• २०८३ जेठ २२
  • 2026 June 05, Friday

२१ वर्षअघि चक्रे मिलनको हात छिनालेको घटनामा जेल गए मनाङे

काठमाडौं । गण्डकी प्रदेशका सांसद दीपक मनाङे उर्फ राजीव गुरुङलाई अदालतमा उपस्थित गराइएको छ ।सर्वोच्च अदालतबाट ज्यान मार्ने उद्योगमा दोषी ठहरिएका मनाङेलाई अदालतमा उपस्थित गराइएको हो ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको सादा पोशाकको टोलीले मनाङेलाई बिहान स्वयम्भू, सानोभ याङस्थित कम्फोर्ट हाउजिङबाट पक्राउ गरेको थियो । पक्राउ पछि उनलाई स्वास्थ्य जाँचका लागि अस्पताल लगिएको थियो ।कात्तिक २० गते सर्वोच्च अदालतले गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो ।

न्यायाधीशद्वय नहकुल सुवेदी र टेकप्रसाद ढुङ्गानाको इजलासले मगलबार गण्डकी प्रदेशका पूर्वमन्त्रीसमेत रहेका मनाङेलाई ज्यान मार्ने उद्योगमा तत्कालीन पुनरावेदन अदालत पाटनको फैसलालाई सदर गर्दै दोषी ठहर गरेको हो ।तत्कालीन पुनरावेदन अदालत पाटनले मनाङेलाई ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने फैसला सुनाएको थियो । सर्वोच्च अदालतले सोही फैसलालाई सदर गरेको हो । विसं २०६१ सालमा दीपक मनाङे उर्फ ‘राजीव गुरुङ’ को गुण्डा समूहले अर्का गुण्डा नाइके चक्रे मिलनमाथि तरबार प्रहार गरी हात छिनाएको थियो । ठेक्कापट्टा र असुली धन्दामा कुरा नमिलेपछि मनाङे समूहले चक्रे मिलन समूहमाथि आक्रमण गरेको थियो ।