• २०८३ जेठ २४
  • 2026 June 07, Sunday

गुरु नानक जयन्ती मनाइयो, शिख समुदायका समस्या सम्बोधन गर्न माग

काठमाडौं । प्रत्येक वर्ष कार्तिक शुक्ल पूर्णिमाका दिन मनाइने शिख सम्प्रदायका प्रवर्तक गुरु नानकको ५५५औँ जन्मजयन्ती शुक्रबार विभिन्न कार्यक्रम गरि मनाइएको छ ।काठमाडौं कुपन्डोलमा रहेको गुरुद्वार गुरुनानक संत्सग समितिले विशेष समारोहका आयोजना गरेर नेपाल रहेका अल्पसंख्यक शिख समुदायको योगदान र समस्याका विषयमा चर्चा गरेका छन् ।

सयौंको संख्यामा भेला भएका शिख समुदायका व्यक्ति एवम शुभेच्छुकहरुले गुरु नानकलाई स्मरण गरे ।गुरु नानकको जन्म विसं १५२६ कात्तिक शुक्ल पूर्णिमाका दिन पाकिस्तानको पञ्जाव प्रान्तमा भएको थियो । उनले शिख धर्मग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गरेका हुन् । जातिवादको अन्त्य गरी मानवतावादी दर्शनको सुरुआत गर्ने गुरु नानक हुन् ।यस दिन पवित्रस्थल गुरुद्वारामा विशेष पूजाअर्चना गर्दै विभिन्न धार्मिक एवं सामाजिक कार्यक्रम गरी गुरुनानकको जन्मजयन्ती मनाउने गरिन्छ । शिखहरूको पवित्र धार्मिक ग्रन्थ ‘गुरु ग्रन्थ साहिब’ को रचना गर्ने गुरुनानकले समाजमा व्याप्त अन्धविश्वास, घृणा र भेदभावको अन्त्य गरी आपसी प्रेम तथा भ्रातृत्वको भावनालाई अभिवृद्धि गर्ने उद्देश्यले बिनाभेदभाव निःशुल्क सामुदायिक भोजन गर्ने ‘लङ्गर परम्परा’को थालनी गरेका थिए ।

निर्गुण उपासनाका पक्षपाती गुरुनानक ‘ईश्वर एक छन्, उनी सर्वशक्तिमान छन्, यही नै सत्य हो’ भन्नेमा उनी विश्वास गर्थे ।
शुक्रबार उनको जन्मजयन्तीको अवसरमा ललितपुरको कुपण्डोलमा आयोजित धार्मिक कार्यक्रममा पूर्वउपप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका उपध्यक्ष नारायणकाजी श्रेष्ठ, पुर्व सांसद् नवराज सिलवाल, पूर्वमन्त्री रञ्जिता चौधरी लगायतले शिख समुदायका समस्या र योगदानका विषयमा चर्चा गरेका थिए ।उपस्थित राजनीतिज्ञहरुले शिख सम्प्रदायको संरक्षण र हक हितको प्रवध्र्दनका लागि प्रतिवद्धता व्यक्त गरेका छन् ।कार्यक्रममा शिख समुदायका अगुवाहरुले नेपालमा गुरु नानकको रुपमा रहेका मठको जग्गा अतिक्रमण भएको, ऐतिहासिक स्थलहरुको संरक्षण नभएको, अल्पसंख्यक शिख समुदायका नागरिकता लगायत अन्य व्यवहारिक समस्याहरुको राज्यबाट सम्बोधन नभएको गुनासो गरे । नानकका शिष्यहरु आफ्नो गुरु बसेर ध्यान गरेर स्थानहरु संरक्षणमा लाग्न नेताहरुले आग्रह गरेका थिए ।