चौधरी ग्रुपद्वारा देशको कुल राजश्वमा दुई प्रतिशत योगदान

  • आर्थिक बर्ष २०८०/०८१ मा १८ अर्ब ५२ करोडसहित पाँच वर्षमा राष्ट्रिय ढुकुटीमा साढे ७६ अर्बको योगदान
  • काठमाडौं । चौधरी ग्रुपले आर्थिक वर्ष २०८०/०८१ मा सरकारलाई १८ अर्ब ५२ करोड ५७ लाख रूपैयाँ कर तिरेको छ । यो सरकारको कुल राजश्वमा करिव दुई प्रतिशत (१.९६ प्रतिशत) को योगदान हो ।

    आर्थिक मन्दीबाट देशको समग्र अर्थतन्त्र प्रभावित रहेको, व्यवसायिक वातावरण सुमधुर नरहेको, उत्पादन तथा निर्माण क्षेत्रको अवस्था कमजोर रहेको पृष्ठभुमिमा पनि चौधरी ग्रुपले राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान गरेको छ । आर्थिक गतिविधिमा आएको संकुचनका कारण सरकारले गत आर्थिक वर्षमा लक्ष्य अनुसार राजश्व संकलन गर्न नसकेको अवस्थामा चौधरी ग्रुपको योगदान भने गत आर्थिक वर्षको तुलनामा १५ प्रतिशतले बृद्धि भएको छ ।

    आर्थिक बर्ष २०७९/०८० को तुलनामा चौधरी ग्रुपले पछिल्लो आर्थिक बर्षमा राजश्वमा पुर्‍याएको योगदान २ अर्ब ३८ करोडले बढि छ । आर्थिक बर्ष २०७९/०८० मा ग्रुपले १६ अर्ब १४ करोड रूपैयाँ कर तिरेको थियो । ‘राष्ट्रिय अर्थतन्त्रमा देखिएको प्रतिकुल वातावरणकाबीच पनि राष्ट्रिय अर्थतन्त्रमा उल्लेख्य योगदान पुर्‍याउन सकेकोमा हामीलाई खुसी लागेको छ । यसले देशको विकास निर्माण र आम नागरिकको सामाजिक सुरक्षामा सरकारी दायित्व निर्वाह गर्न सहयोग पुग्नेछ भन्ने मेरो विश्वास छ’, चौधरी ग्रुपका अध्यक्ष बिनोद चौधरीले भने, ‘राष्ट्रिय अर्थतन्त्रको विस्तार र देशका विकास परियोजनामा योगदान गर्न पाउँदा हामीले गौरवान्वित महशुस गरेका छौँ ।’

    गत पाँच वर्षमा चौधरी ग्रुपले सरकारलाई ७६ अर्ब ५४ करोड रुपैयाँ कर तिरेको छ । आर्थिक वर्ष २०७६/७७ मा ९ अर्ब ८७ करोड, २०७७/७८ मा १४ अर्ब २८ करोड, २०७८/७९ मा १७ अर्ब ७२ करोड, २०७९/८० मा १६ अर्ब १४ करोड, २०८०/८१ मा १८ अर्ब ५२ करोड रूपैयाँ कर सरकारी ढुकुटीमा दाखिला गरिएको छ ।

    चौधरी ग्रुपका प्रवन्ध निर्देशक निर्वाण चौधरीले आफ्नो ग्रुपले स्थापित एवं नयाँ व्यवसाय बृद्धिका माध्यमद्वारा नेपालको राष्ट्रिय अर्थतन्त्रमा सन्तोषजनक योगदान गर्न सकिएको बताएका छन् । ‘हामीले प्रत्येक बर्ष राजश्वमा योगदान बढाउँदै लगेका छौँ र आगामी बर्षहरूमा पनि यो बृद्धिदर कायम राख्ने हाम्रो लक्ष्य छ’, प्रवन्ध निर्देशक चौधरीले भने, ‘चौधरी ग पले नेपाललाई आफ्नो प्रमुख प्राथमिकतामा राखी लगानीको दायरा विस्तार गर्दै आएको छ । हामीले पूर्वाधार र नयाँ प्रविधिमा आधारित व्यवसायमा लगानी गरिरहेका छौँ । यसबाट राष्ट्रको समग्र आर्थिक विकासमा योगदान पुग्ने हाम्रो विश्वास छ ।’

    नेपालमा व्यवसायिक ग्रुपहरूले सरकारको राजश्वमा गरेको योगदानलाई सरकारी तवरबाट छुट्टै गणना गर्ने र प्रोत्साहन गर्ने परिपाटी नहुँदा पनि चौधरी ग्रुपले प्रत्येक वर्ष आफ्नो समूहबाट राजश्वमा गरेको योगदानलाई सार्वजनिक गर्दै आएको छ ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१