इलामको झन्डीडाँडा : प्राकृतिक भ्यू–टावर

काठमाडौ । पूर्वी इलामका जति पनि अग्ला डाँडाहरु छन ति सबै सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त मानिन्छन् । किनकी पंश्चिम बंगालको खाडीबाट झुल्कने सूर्यले पहिलो पटक इलामकै अग्ला डाँडालाई स्पर्श गर्छ । इलामको रोङ गाउँपालिका–६ मा रहेको झन्डीडाँडा पछिल्लो समय सूर्योदय दृश्यावलोकनका लागि उपयुक्त स्थानका रुपमा चर्चा छ । त्यति मात्र होइन पदमार्ग र साहसीक खेल गन्तब्यका रुपमा विकसित हुँदै गएको छ ।

सूर्यको पहिलो झुल्को नियाल्न र साहसीक खेल पारखीहरुका लागि भर्जिन गन्तब्यका रुपमा यस स्थानले परिचय पाउन थालेको छ । नेपाल–भारत सीमा छुट्याउने मेची नदी किनारबाट शुरु भएको करसोङ पदमार्ग साइकल यात्रीहरुका लागि प्रख्यात छ, सोही पदमार्गसँग जोडिएको झन्डीडाँडाले उत्तिकै पख्याती कमाउन थालेको छ ।१ हजार ३ सय ९६ मिटर उचाइमा रहेको यहाँबाट उत्तरमा कञ्चनजंघा, कुम्भकर्णलगायत दर्जनौं हिमशृंखला देख्न सकिन्छ भने पहाड र तराईका दर्जनौं स्थानसमेत यहाँबाट छर्लङ्ग नियाल्न सकिन्छ । अहिले यहाँ धरहराको संरचना तयार गरी पर्यटकलाई थप आकर्षित गरिएको छ । झन्डीडाँडासम्म पुग्ने सिँढी बनाइएको छ । रेलिङ लगाएर आकर्षक बनाइएको छ । यहाँ प्रतीक्षालय बनाइएको छ । मेची राजमार्गको हाँसपोखरीबाट करसोङ पदमार्ग बनेपछि झन्डीको महत्व र सहजता बढेको छ ।

रोङ गाउँपालिकास्थित पर्यटन सूचना केन्द्रका सूचना अधिकृत गगन घिमिरेका अनुसार सामान्य भौतिक संरचनाहरुको निर्माण भएपछि भारतीय पर्यटकहरुले झण्डीडाँडा रमाइलो गन्तब्य बनाएका छन् । ‘तराईको गर्मी छल्न भारतको दार्जिलिङ, मिरिक र खरसाङ उक्लिएका पर्यटकले झण्डीडाँडा पनि रोज्न थालेका छन् । साइकल यात्रीहरु समूह बाँधेर यहाँसम्म आइपुग्छन् । देश विदेशमा थप प्रचार गर्न सके यस स्थान पूर्वी नेपालको अर्गानिक गन्तब्य बन्ने निश्चित छ,’ घिमिरेले भने ।झापाको काँकडभिट्टाबाट १७ किलोमिटर उत्तर र मेची राजमार्गको हर्कटे बजारबाट १० किलोमिटर दक्षिणमा रहेको यो स्थान तराई र पहाड दुवै तर्फबाट पायक पर्ने भएकाले पर्यटनको प्रचुर सम्भावना बोकेको स्थान रहेको स्थानीय हर्कटे बजारका युवा अगुवा सन्तोष गुरुङ बताउँछन् । ‘यहाँ आउने पर्यटकले कान्छी पाथिभराको दर्शन गर्दै नजिकैको गुगल पोइन्टमा रमाइलो गर्दै कन्याम चिया बगानलाई पनि आफ्नो प्याकेजमा समावेश गर्न सक्छन । क्याम्प फायर र नाइट स्टे क्याम्प गरेर भिन्न आनन्द लिन सक्छन्, । ग्रामीण परिवेशको रहनसहन र चुरे क्षेत्रको अवलोकनबाट पनि बेग्लै आनन्द लिन सक्छन्,’ गुरुङले जानकारी दिंदै भने ।
हिजोआज झन्डीडाँडालाई पर्यटकले प्राकृतिक भ्यू टावरको उपमासमेत दिनेगरेका छन् ।

धार्मिक र सांस्कृतिक हिसाबले महत्वपूर्ण स्थान मानिने यो डाँडामा किरात राईका आदिम पुर्खा रिनाहाङले देवी पूजा गरेको ठाउँका रुपमा चिनिएको छ । झन्डीडाँडामा रहेको खेलमैदानलाई स्थानीय अगुवाले ‘रिनाहाङ ठूलो आहाल खेल मैदान’ नामसमेत राखेका थिए । यसलाई अहिले झन्डी खेलमैदान पनि भनिन्छ । किरातीहरुले उधौली, उभौलीजस्ता पर्व, संसारी पूजा, ढोलपूजा गर्दा ध्वजापताका झन्डा गाढ्ने चलन थियो । त्यही चलनअनुसार संस्कार सकेपछि, पूजाविधि सकेपछि यही डाँडामा झन्डा गाढ्नेगरेको इतिहास रहेको उक्त स्थानलाई पर्यटकीय गन्तब्यका रुपमा प्रचारमा जुटेका स्थानीय अगुवा अशोक वान्तवाको भनाइ छ । ‘किरातीहरु वा साम्पाङ राईले यो डाँडालाई ‘रिनाहाङडाँडा’ पनि भन्छन । किरात संस्कृतिको धरोहर यहाँ साकेला थान छ भने उधौली उभौलीमा पूजा गरिन्छ । ढोल, झ्याम्टा बजाएर साकेला नाचिन्छ । त्यसैले यसको धार्मिक महत्व उत्तिकै महत्वपूर्ण छ,’ उनले भने ।झन्डीडाँडामा भ्यु–पोइन्टको अवधारणा स्थापना गर्न संघीय र स्थानीय सरकार, स्थानीय अगुवा, किरात फ्रेन्ड्स क्लब लगायतको योगदान महत्वपूर्ण मानिन्छ । आर्थिक वर्ष २०७७/०७८ पछि यहाँ पूर्वाधार विकासले गति लिंदै गएको छ । रोङ गाउँपालिकाले यसको आसपासमा गुराँस रोपेको छ ।

पालिका अध्यक्ष मणीकुमार (सुवास) स्याङबो करसोङ पदमार्गसँगै झन्डीडाँडालाई विश्वकै नमूना पर्यटकीय गन्तब्य बनाउने आफ्नो लक्ष्य रहेको सुनाउँछन् । ‘म त्यसैपनि पर्यटनप्रेमी हुँ । रोङका हरेक रमणीय स्थानलाई प्राथमिकताका साथ योजना बनाएर काम गरिरहेको छु, झन्डी त्यसकै एक नमूना हो । यसको प्रचारका लागि प्रशस्त काम गर्नुपर्नेछ,’ उनले भने ।
झन्डीडाँडामा भारतको सिलिगुडी, कोलकातालगायत स्थानबाट गर्मी छल्न पर्यटक आउनलाई नजिक पर्छ । कोलकाताबाट ६सय २ किलोमिटरमा झन्डीडाँडा आइपुगिन्छ । कोलकाताबाट बेहामपुर–मालदा, किसनगञ्ज हुँदै काँकडभिट्टा आइपुगिन्छ । बागडुग्रा विमानस्थलमा ओर्लिएर पनि काँकडभिट्टा हुँदै झन्डीडाँडा आउन सकिन्छ । बागडुग्राबाट झन्डीडाँडा ४३ किलोमिटरमा छ । दृश्यावलोकनका लागिमात्र नभइ वनभोजका लागि पनि राम्रो सम्भावना रहेको स्थान हो ।झन्डीडाँडा सम्म पुग्न करसोङ पदमार्ग हासपोखरीबाट गुगल पोइण्ट, देवानगढी, गिद्धेभीर, दैले, हल्लने हुँदै दिनभरि पैदल हिँडेर धजे भञ्ज्याङ आसपासमा बास बस्न सकिन्छ । धजे आसपास होम–स्टे छन् ।

भोलिपल्ट बिहानै झन्डीडाँडाबाट सूर्याेदय दृश्यावलोकनपश्चात् झापातर्फको यात्रा तय गर्न सकिन्छ । कन्याम, अन्तुडाँडा, सन्दकपुर, मेघमा, थुम्के, मेची नदीलगायत इलाम र झापाका गाउँ–सहरमात्र नभइ भारतको दार्जिलिङ, घुम पहाड, सिक्किमको माथिल्लो क्षेत्र, खर्साङ, सिलिगुडी, मटीगढा, बागडुग्रा, टिस्टा नदी पनि यहाँबाट अवलोकन गर्न सकिन्छ ।
यो स्थानमा २०७८ सालमै प्याराग्लाइडिङको सफल परीक्षण भइसकेको छ । गाउँपालिका अध्यक्ष स्याङ्बो वर्तमान वडाध्यक्ष सत्यम राई चौरासे, रम्भ्याङ सामुदायिक वन अध्यक्ष आशिष प्रधानलगायत स्थानीय अगुवा यसको व्यावसायिकताका लागि जुटिरहेका छन् ।

प्याराग्लाइडिङ संचालनपछि भारत कोलकातासम्मका पर्यटकसमेत यहाँ आकर्षित गर्ने पर्यटनकर्मीको लक्ष्य छ ।प्याराग्लाइडिङ इलामबाट झापा झर्ने भएकाले दुवै जिल्लाको पर्यटनलाई समेत यसले जोड्ने छ ।यहाँबाट प्याराग्लाइडिङमा उडेर मिनी माउन्टेन झर्ने रुट बन्नसके त्यहाँबाट झापा धुलाबारी र काँकडभिट्टाका होटलमा बास बस्न पुग्न सकिने वडाध्यक्ष सत्यम राईको भनाइ छ । ‘भौतिक पूर्वाधार निर्माणका लागि यसपाली थप बजेट विनियोजन गरेर काम गर्ने योजना छ,’वडाध्यक्ष राईले भने ।यहाँ आउने पर्यटकलाई लक्षित गरि रम्भ्याङ गाउँमा होम–स्टे विस्तार गरी पर्यटकलाई खाने–बस्ने व्यवस्था मिलाइएको छ । यहाँ सुन्तला फल्ने सिजनमा सुन्तलाबारीमा रमाउन सक्छन र अर्गानिक सुन्तलाको स्वाद लिन सक्छन् । यहाँ रक क्लाइम्बिङ, जिपलाइन र प्लाराग्लाइडिङजस्ता साहसिक खेलका लागि प्रशस्त सम्भावना छ । करसोङ पदमार्गमा पाइने दुर्लभ बनस्पती सुनाखरी फुलले पर्यटकलाई थप आकर्षित गर्ने गर्छ ।

पर्यटन समिति गठन
इलाम । इलामको रोङ–६ रम्भ्याङस्थित पर्यटकीय स्थल झण्डी डाँडाको पर्यटन प्रवर्दन गर्न झण्डी डाँडा पर्यटन प्रवर्दधन तथा ब्यवस्थापन समिति गठन भएको छ । रम्भ्याङको धजे भञ्ज्याङमा ६ नम्बर वडा कार्यालय द्वारा आयोजित एक भेलाले स्थानीय अगुवा डम्बर बहादुर राईको अध्यक्षतामा समिति गठन गरिएको हो ।नव गठित समितिको सदस्य सचिव रन्जित राई, वडा प्रतिनिधि जीवन राई, स्थानीय उद्योग वाणिज्य संघ प्रतिनिधि जीवन प्रधान, स्वयंसेविका डुकिमाया प्रधान राई, सामुदायिक बन प्रतिनिधि प्रेम कुमारी खड्का चयन भएका छन् ।समितिले झण्डी डाडा पर्यटनको प्रवर्दन र विकास, चेतना बिकास, पर्यापर्यटन, खेल पर्यटन, सांस्कृतिक पर्यटनलगायत अगाडि बढाउन दर्ता प्रक्रिया अगाडि बढाउने सदस्य सचिव राईले बताए ।भेला रम्भ्याङ सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष आशिष प्रधानको अध्यक्षता र वडा अध्यक्ष सत्यम राई चौरासेको प्रमुख आथित्यतामा सम्पन्न भएको थियो

 

 

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१