काठमाडौं । माइती नेपालकी अध्यक्ष अनुराधा कोइरालाले बालिकाहरुको अधिकार र संरक्षणप्रति गम्भीर बन्नुपर्ने आवश्यकता औंल्याउँदै बालिकाहरुलाई उनीहरुको बालापन नै जिउन दिनुपर्ने बताएकी छन् ।
राष्ट्रिय एचआइभी महासंघद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले बालिकाहरुलाई समयभन्दा अगाडि परिपक्व बन्ने दबाब दिनु अनुचित रहेको बताइन् । उनले भनिन्, ‘बालिकाहरुलाई बालिका नै रहन दिउ । उनीहरुलाई तरुनी नबनाउ ।’कोइरालाले बालिकाहरुको शिक्षामा सहज पहुँच, स्वास्थ्य सेवामा सरलता प्र्रदान गर्न आग्रह समेत गरेकी छन् ।
उनले भनिन्, ‘बालिकाहरुको उचित पालनपोषण, संरक्षण, र शिक्षाको पहुँच सुनिश्चित गर्नु हाम्रो सामूहिक दायित्व हो ।उनीहरुको भविष्य सुनिश्चित गर्ने काम गर्न सबै पक्षले हातेमालो गर्नुपर्छ ।’कोइरालाले एड्स दिवसलाई खासै मान्छेहरुले मान्यता नदिएको दुखेसो गरिन् । कार्यक्रममा एचआईभी/एड्ससम्बन्धी जनचेतना फैलाउन समाजका सबै पक्षले सक्रिय सहभागिता जनाउनुपर्नेमा जोड दिइन ।उनले देश हाँकिरहेकाहरुले एचआईभी/एड्स न्यूनीकरण र वालिका बचाउ अभियानमा लाग्नुपर्ने बताइन । देश सफा गर्न सबै जुट्नुपर्नेमा कोइरालाको भनाइ थियो ।