बागलुङ बहुउदेश्यीय सहकारीकाे बेथिति: बसन्तकुमार श्रेष्ठले १० वर्षदेखि तिरेनन् ऋण

बागलुङ । बागलुङ बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष अशोक गोविन्द राजभण्डारी र बागलुङ नगरपालिका प्रमुख बसन्तकुमार श्रेष्ठले मिलेर सहकारीकाे रकम हिनामिना गरेकाे तथ्य खुलेकाे छ ।

उक्त सहकारीबाट १० वर्ष पहिला बिना धिताे १० लाख ऋण लगेर अहिले त्यही सं‌स्थाका अध्यक्षसँगकाे मिलेमताेमा नगरपालिका प्रमुख श्रेष्ठले कयाैँ बचतकर्ताकाे लाखाैँ रकम हिनामिना गरेकाे खुलेकाे हाे । यस विषयमा संस्थाका प्रबन्धक दिनेश पन्तले आवाज उठाउँदा शक्तिकाे आडमा नगरपालिका प्रमुख श्रेष्ठ र उक्त सहकारी संस्थाका अध्यक्ष राजभण्डारीले पन्तलाई प्रबन्धककाे जिम्मेवारीबाट हटाइदिएका छन् ।

सहकारीका अध्यक्ष राजभण्डारीले ५०० भन्दा बढी बचतकर्ताहरुको बचत खाता आफूखुशी बन्द गरी उक्त खाताहरुमा रहेको रकम आफ्नो खातामा सारी दूरुपयोग गरेकाे, बचत कर्ताहरुको रकम ठगी गरेको, आफू अनुकुल रुपमा कर्जा लगानी गरेको, विना शेयरलाई पनि कर्जा प्रदान गरेको, विनाधितो कर्जा लगानी गरेको, संस्थाको हिसावकिताब पनि ठिक नभएकाे भनेर प्रबन्धक पन्तले आवाज उठाएपछि उनलाई अध्यक्षले कार्यालयमा नै हातपात गर्ने तथा जिम्मेवारीबाट अलग गर्नेलगायतका अप्रिय काम गरेका हुन् ।

सहकारीमा भएकाे बेथितिकाे बारेमा आवाज उठाउँदा कार्यालयमा अध्यक्षले गरेकाे हर्कतबारे पन्तले सहकारी सञ्चालक समितिसहित नगरपालिकाकाे सहकारी शाखामा जानकारी गराउँदा उल्टाे नगरपालिका प्रमुखले सहकारीका अध्यक्षसँगकाे मिलेमताेमा ठाडाे माैखिक आदेशमा आफूलाई कामबाट हटाइएकाे गुनासाे पन्तकाे छ । उनी भन्छन् ‘नगरपालिका प्रमुखले त्यही सहकारीबाट वर्षाैँ पहिले लगेकाे ऋणकाे साँवाब्याज तिरेका थिएनन्, त्यहीकारण सहकारीका अध्यक्षसँग मिलेर मलाई जिम्मेवारीबाट हट्न आदेश दिइयाे ।’

सहकारीकाे कर्तुत लुकाउनका लागि पन्तलाई निष्कासन गरिएकाे प्रकृया पनि गलत देखिन्छ । सहकारीकाे सञ्चालक समितिले कामकारवाहीकाे जिम्मा दिइरहँदा अध्यक्षले आफैँ कार्यालय समयभन्दा बाहिर गएर आफूलाई पदमुक्त गरेको पत्र दिएकाे पन्तकाे आराेप छ । गलत प्रकृयाबाट आफूलाई पदमुक्त गरेकाे भनेर नियमित कार्यालय गइररहेका पन्तलाई नगरपालिकाकाे सहकारी शाखाले पनि काममा नजान पत्राचार गरेकाे थियाे । यसमा सहकारी सञ्चालक र नगर प्रमुख श्रेष्ठकाे स्वार्थ प्रष्टरुपमा देखिएकाे छ ।

बागलुङ बहुउद्देश्यीय सहकारीबाट अध्यक्ष राजभण्डारीले आफू अनुकुलका नगरप्रमुख बसन्तकुमार श्रेष्ठसहित शशीकपुर श्रेष्ठ, बिदूर बोसेल, महेन्द्र पुन, नारायणप्रसाद श्रेष्ठ, घनश्याम मल्ललगायतलाई बिना धिताे नै ऋण दिएका छन् । ऋण लगेकाे लामाेसमय हुँदासमेत उनीहरुले साँवा तथा ब्याज केही पनि तिरेका छैनन् । यसबारे कुरा उठाउँदा पन्त जागिरबाट निष्काशित हुनुपरेकाे छ ।

सहकारीका अध्यक्ष राजभण्डारीकै अध्यक्षतामा बसेको बैठकले एक वर्ष पहिले पन्तलाई प्रबन्धकमा नियुक्त गरेका थिए । पहिलो पटक ६ महिनाका लागि म्याद थपेको समितिले दोस्रो पटकको म्याद थप गर्ने निर्णय गरेको भए पनि अध्यक्षले पुरक निर्णय गरेर आफूलाई हटाएको पन्तको गुनासो छ । उनी भन्छन् ‘सहकारीका बेथितीको विषयमा बोल्न थालेँ, नियम विपरितका काम गर्न मानिनँ, त्यसैले मलाई हटाइयाे ।’

याे पनि हेर्नुहाेस् 

बागलुङ बहुउदेश्यीय सहकारीको बेथिति: थिति बसाल्न खोज्ने प्रबन्धकमाथि डण्डा, जोखिममा शेयर सदस्यको करोडौँ लगानी !

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१