विपत्तिको त्रास र आफ्नाहरु छुटेको खल्लो दशैं

बिजयादशमी आउन एक हप्ता बाँकी थियो । गएको असोज २२ गतेअघि नियमित कार्यालय सञ्चालनमै थियो । सबैतिर दशैं लागिसकेको थियो । त्यसमा पनि संघीय राजधानी काठमाडौंलाई दशैं नलाग्ने कुरै भएन । दशैंका मान्न गाउँ जानेहरुले काठमाडौं छाडिसकेका थिए । सहर र सडक गल्लीमा आवतजावत निकै कम थियो ।

दशैंका लागि किनमेल गर्ने, टिकट काट्ने, नयाँ नोट साट्न बैंक पुग्नेहरु घट्दै गएको कुरा म रिपोटिङका क्रममा निस्कदा महसुस गर्थे । बसपार्कमा यात्रुहरुको भीड र चिया चौतारीमा दशैंमा घर जाने धेरैजनाका योजनाहरु ‘चिया शप’ मा सुनिन थालेको थियो ।

म पनि यसपाली दशैं गाउँमै आमासँग टीका लगाएर मनाउने योजनामा थिए । अफिस बिदा भएको थिएन् । असोज २२ गतेबाट मात्रै अफिसमा बिदा बस्ने अफिसको सल्लाह थियो । तर, मैले भने असोज २१ गतेको ‘ड्युटी’ भ्याएर असोज २२ गते ‘डे माइक्रो’ मा गाउँको यात्रामा निस्किइसकेको थिए ।

जन्मेको, हुर्केको अनि पढेको मेरो जन्मगाउँ बागलुङको जैमिनी नगरपालिका–८, छिस्ती पर्छ । काठमाडौंबाट एउटै गाडीमा सिधै गाउँ पुग्न भने सकिँदैन । काठमाडौंदेखि कुश्मा वा बागलुङ बजारसम्म गाडीमा झरेर अर्को पिकअप जीप पक्रिनुपर्छ । मोटामोटी रुपमा काठमाडौंबाट म घर पुग्न डेढ दिन लाग्छ । अर्थात, रात्री ७ बजेको साझा बसमा जाने हो भने पनि बागलुङ बजार उत्रिँदा बिहान ६/७ त कम्तीमा पनि बज्छ ।

बागलुङ बजारबाट भने बिहानी सत्रमा गाउँ जाने जीप पाइँदैन । बिहानी सत्रमा गाउँबाट छुटेका जीप बागलुङ बजार १२ बजेसम्म आइपुग्छन् र, साँझ ३/४ बजेमात्र गाउँका लागि छुट्छन् ।

म पनि त्यही सेड्युलअनुसार थिए । असोज २२ गते बिहान ७ बजे नै पठाओ चढेर गोंगबु बसपार्क पुगिसकेको थिए । किनकी मैले घर जान त्यतिबेलासम्म पनि टिकट भने काटेको थिइन् । किनकी, निरन्तरको वर्षाले पृथ्वी राजमार्ग, बीपी राजमार्गलगायतका महत्वपूर्ण सडकहरु अवरुद्ध थिए ।

घर जान पाइने हो कि होइन् भन्ने दुबिधा असोज २० गतेसम्म नै थियो भन्दा फरक नपर्ला । किनकी, बाढीपहिरोले सर्वत्र तहसनहस बनाइरहेका बेला बरु दशैं अर्को वर्ष मनाए पनि हुन्छ, जोखिमपूर्ण सवारी यात्रा नगरौं भन्ने नै मान्यताम म राख्छु ।

तर, असोज २१ गतेसम्म वर्षा केही घटिसकेको थियो । पठाओ चढेर बसपार्क पुगेर पश्चिम नेपाल जाने माइक्रो काउन्टरमा पुगेँ । त्यहाँ एकजना दाइलाई सोधेँ, ‘दाइ बागलुङ जाने टिकट छ होला ? उनले छैन भन्ने भावमा मुन्टो हल्लाए ।

सिधा बागलुङ जाने नभए पोखरासम्म जाने माइक्रो छ कि हेर्नु त ? मैले पुनः सोधे । उनले छ जानुहुन्छ ? भनेर सोधे । माइक्रो ८ बजे छुट्नेवाला थियो । पोखरासम्म र त्यसभन्दा पहिला झर्नेहरु माइक्रोभरी यात्रु थिए ।

सिधा बागलुङ जाने बस नपाएकाले पनि मैले त्यही माइक्रोमा गएर पोखरा झर्ने र त्यहाँबाट अर्को बस चढेर बागलुङ जाने सोच बनाइसकेको थिए । त्यसअनुसार, माइक्रोका सहचालक एक जना भाइले मेरो ‘लगेज’ डिकीमा राखेर मलाइ बीचको सीटमा बस्न अह्याए ।

एक/दुइ जना मान्छे हालेर माइक्रो हिड्नै लागेको अवस्थामा थियो । सहचालक भाइले टिकट काट्नुपर्दैन भनेकाले साथमा टिकट थिएन् । बरु, पोखरासम्मको भाडामा २५० बढी लाग्ने कुरा ती सहचालक भाइले माइक्रो चढ्नुअघि नै मलाइ भनिसकेका थिए । मोटामोटी पोखरासम्मको भाडा एक हजार रुपैयाँ तिर्नेवाला थिए । माइक्रो यात्रा सुरु भइसकेको थियो ।

नागढुंगा नजिकैको झ्याप्लेखोलाको पहिरोले सडक एकतर्फी रुपमा चलेको थियो । लामो जाम पर्ने सम्भावना उत्तिकै थियो । त्यसकारण म चढेको माइक्रोले रुट बदल्यो । सितापाइला–धाक्रे सडक हुँदै यात्रा अघि बढ्यो । यो सडक हुँदै जाँदा जाम हुने थिएन ।

कम्तीमा धार्केसम्म बिनाजाम पुग्दा पनि पोखरा छिटो पुग्न सकिने चालकको तर्क थियो । त्यसखण्डको बाटो पनि सहज भने थिएन् । किनकी, केही दिनअघिको वर्षाले सडक खण्डका विभिन्न ठाउँको पहिरो हटाएर यातायात सुचारु गरिएको रहेछ ।

यात्राका क्रममा माइक्रोमा धेरैजसो पोखरेलीहरु भेटिए । कतिपयसँग त चिनाजानी समेत गरियो । चालक दाइले पेनड्राइभर झिकेर लोक शैलीका दोहोरी गीहरु बजाउन थाले ।

अनेकथरीका गीत सुन्दै यात्रा अघि बढ्यो । म भने पोखरा छिटो झरेर अर्को बस चढी ४ बजेसम्म कुश्मा पुग्ने सोचमा थिए । जतिसक्दो अघि बढ्नु थियो । चालक दाइलाई पनि मैले पोखरा कतिबेलासम्म पुर्याउँछ भनेर बारम्बार सोधिरहन्थे ।

तर, बाटोको खराबीका कारण म चढेको माइक्रो पोखरा उत्रिनै अपराह्नको २ बजाइदियो । ३/४ बजेसम्म कुश्मा पुगेर त्यहाँबाट केबुलकार चढेर पारी बलेवा उत्रेर पिकअप जीप पक्रिने सोच थियो । त्यसअनुसार, मैले बागलुङ बजारदेखि गाउँसम्म जीप चलाउने चालक भाइलाई दमौली पुगेर फोन गरिसकेको थिए ।

तर, मुग्लिनदेखि पोखरा सडक खण्ड विस्तार चलिरहेकाले यात्रा भने अलि ढिलाइ भइसकेको थियो । पोखरा झरेर बेनी पुग्ने ठूलो लोकल बस मिल्यो । चढिहालेँ । तर, बस त्यहाँबाट हिड्न नै आधा घण्टा लगाइसकेको थियो ।

यसअघि माइक्राको यात्रुहरु उतै छुटिसकेका थिए । तर, काठमाडौंबाट नै माइक्रोमा सँगै आएकी पर्वतकी एकजना युवती भने म सँगै बस चढिँन् । पर्वतको दोबिल्ला पुग्नु पर्ने रहेछ उनलाई । लोकल बसको सँगसँगैको दुइ सीटमा बसेकाले सामान्य परिचय र कुराकानी हुने कुरा स्वभाविक थियो ।
नाम चाहिँ के भनिन्, सम्झना छैन् मलाइ । तर, जिल्लाबाट छात्रबृत्तिम पढ्न काठमाडौं आएकी रहेछिन् । काठमाडौं महानगरका मेयर बालेन शाहले गरिव र विपन्न विद्यार्थीलाई छात्रवृत्तिमा पढाउने योजना ल्याए पछि उनी छनोटमा परेकी रहेछिन् ।

होस्टेलमा बसेर छात्रवृत्तिमा मेडिकल लाइन पढ्दै गरेको उनले कुराकानीमा सुनाएकी थिइन् । लोकल बसले यात्रु चढाउने र झराल्ने क्रम निरन्तर चलिरहेकै थियो । जसले मेरो यात्रा झन–झन ढिलाइ हुँदै थियो । पोखराबाट ४ बजे चढेको बसले लुम्ले आइपुग्दा ६ बजाइसकेको थियो । त्यहाँ पुगेपछि लाग्यो, अब साँझसम्म घर पुग्न सकिँदैन ।

गाउँतिर जाने पिकअपले ५ बजेसम्म पर्खेको थियो । नभ्याइने देखेर पिकअप चलाउने भाइले कुश्मा बजार वा बागलुङ बस्नुस् भोलि सँगै आउँला भनेर खबर गरिसकेका थिए ।

बस कुश्मा बजार उत्रिँदा साँझको ७ बजिसकेको थियो । बागलुङ बजारमा गए पनि बस्नु नै छ, किन उता जाने भनेर कुश्मा बजारको सिवालयचोकमा उत्रिए । बास बस्न दिउँसो नै उतै गाउँका नरेश दाइ, हाम्ले गाउँमा नमस्ते दाइले चिन्थ्यौं । उनकै दीदी मिनाले कुश्माबजारको बान्द्रीबेडी चोक नजिकै पाङराङ होटल चलाउँदै आउनुभएको छ ।

मिना दीदीकै होटेलमा बास बसियो । होटेलमा त्यति पाहुनाहरु नभएको, व्यापार पहिलेजस्तो नभएको मिना दीदीले भोलिपल्ट बिहानी कुराकानीमा भन्दै हुनुहुन्थ्यो । त्यो दिन दीदीको होटेलमा घरका सदस्यबाहेक बाहिरी बाहुना थिएनन् पनि ।

भोलिपल्ट अर्थात यात्राको दोस्रो दिन थियो । उठेर हात मुख धोइवरी चिया पिएर बिहान ७ बजे नै मिना दिदीको होटलबाट निस्किएको थिए । कुश्माबाट बलेवा गएर दिउँसो ३/४ बजेसम्म जीप कुर्नुभन्दा कुश्मादेखि सिर्सुवा पुल तरेर टेम्पोमा चढेर फलेवास ढिकतिर हानिए । मिना दीदीको होटलबाट निस्किएपछि बडागाउँचौर हुँदै सिरसुवा पुल तरे ।

घर पुग्नेबित्तिकै आमाले ‘क्वाप्प’ खानुहोला भनेर तीन किलो स्याउ, एक किलो सुन्तला, तरकारीका लागि ३ किलो आलु किनेर हाल्दा जेब्रे झोला गह्रै भइसकेको थियो । साथमा गह्रौ भिर्नी झोलाको लोडले पुलपारी पुग्दा असिनपसिन बनायो ।

पुल तरेपछि १० मिनेट हिँडेर टेम्पो लाग्ने ठाउँसम्म पुगियो । त्यहाँ पनि २/४ जना मान्छे आएपछि टेम्पो हिडिहाल्ने भनेर चालकहरु यात्रु कुरेर बसेका थिए । मैले पनि अन्य यात्रुहरुको कुराइमा झन्डै आधा घण्टा बिताए ।

त्यसपछि अन्य २ जना यात्रु थपिएपछि टेम्पो फलेवासढिकतर्फ हुँइकियो । टेम्पो चालकसँग गफिन खोजेँ । ‘बिहानदेखि बोहनी भएको छैन, कमाइ नै छैन भाई,’ उनले गफका क्रममा सुनाएका थिए । मैले पनि यस्तै छ भनेर प्रतिउत्तर फर्काए ।

टेम्पोले आधा घण्टा नहुँदै फलेवास ढिक पुर्‍यायाे । त्यहाँबाट भने मेरो बाँकी यात्रा अन्योलपूर्ण नै थियो । कुनैबेला म आफैं पनि घरमा चाहिने सामान, खाद्यान्न किन्न पैदल हिडेर फलेवास आउथेँ । र, किनमेल गरी भरिया बनेर घर पुग्ने गरेको सम्झना ताजै छ ।

तर, त्यो बेलाजस्तो हिड्न अहिले ‘हब्बा’ आउँदैन मलाइ । कारण धेरै छन । उमेर बढ्यो । तौल बढ्यो । सहरको बसाइले हिड्ने तागत घटाएको पक्कै थियो ।

फलेवास पुग्दा असाध्यै भोक लागिसकेको थियो । घडिले त्यतिबेलासम्म साढे ८ बजाइसकेको थियो । सामान्य खाजा खाएँ । कुश्मीसेरादेखि बुटवलसम्म चल्ने ठूलो गाडी पाइन्छ कि नाइ भनेर खाजा पसलका साहुजीसँग सोधनी भयो ।

उनले बस कुचुँरेको भीरमा अड्किएकाले आउँदै गरेको खबर दिए । मनमा खुसी छायो । किनकी, फलेवास ढिकबाट पुल तरेपछि कालीगण्डकी करिडोर हुँदै कुश्मीसेराबाट छुटेको बस मिल्नेवाला थियो । त्यो बस छुटाए मलाइ कम्तीमा ६ घण्टाभन्दा बढी पैदल हिड्नुपर्ने थियो । त्यसकारण, बरु फलेवास पारी करिडोरमै पुगेर बिश्राम गर्ने भनेर असिनपसिन हुँदै सुम्साको उकालो चढे ।

करिडोरमा पुगेको २ मिनेटमै बुटवल जाने बस आइपुग्यो । पसिना नपुछी बसको सीटमा बसे । पसिना र बिश्रामको भन्दा मलाइ बस मिलेकोमा खुसी लागिरहेको थियो । बस चढेर आमालाई फोन गरेँ । खाना बनाउनुँ म सुम्साबाट बस पाएकाले १२ बजेभित्र आइपुग्ने जानकारी आमालाई गराए । बस बेलबगरमा केहीबेर रोकियो ।

त्यसपछि बस करिडोरको बाटो हुँदै अघि बढ्यो । बसका सह–चालकलाई छिस्तीको अदुवारीमा बस रोक्नू भनेर भाडा बुझाइसकेको थिए । ४० भन्दा बढी यात्रु क्षमताको बस थियो । तर, यात्रुहरु भने हातको औंलामा गन्ने संख्यामा थिए । सहचालक दाइले मान्छे नभएको, दशैंको बेला भएकाले भाडा २ सय रुपैयाँ ठटाए । अघिपछि म आफैं डेढ सय रुपैयाँसम्म भाडा तिरेके हो ।

तर, चाडपर्वको बेलामा गाडी पाइयो भन्ने ढुक्क मनले २ सय भाडा दिन भने म हिच्किचाउन चाहिँन् । बस अदुवाबारी पुगेर रोकियो । अदुवाबारीबाट म घर पुग्न आधा घण्टाको नाके उकालो चढ्नुपर्छ ।
बसबाट झरेपछि हातमा गह्रौं जेब्रा र अर्को ब्याग बोकेर उकालो चढ्न खोज्छु तर, खुट्टा लुलिएर चढ्न मान्दैनन् । भोक र प्यास नभनी दशैं मान्न गाउँ पुगेको म भारीले ज्यान गलेको थियो । पहिले नै आमाइलाइ फोन गरेर ब्याग बोक्ने फुच्चे भाइ प्रेमलाई पठाइदिन भनिसकेको थिए ।

भाइ मलाइ लिन आइसकेको रहेछ । केही छिन भारी बिसाएर प्रेमलाई चक्लेट चखाएँ । मिठ्यो मान्यो । उसको खुसी देखेपछि मलाइ उकालो चढ्न सहज भयो । किनकी, मेरो गह्रै जेबे झोला उसले बोकिसकेको थियो । आधा घण्टाको त्यो उकालीमा हामी ७/८ ठाउँमा बिसाएर घर पुग्दा साढे १२ बजिसकेको थियो । अर्थात, मध्यान्हको समयमा घरमा आमाले पातेको दैलेमा टेके ।

आमालाई ढोगेँ, पैसा दिए । उनी जुत्ता खुलेर, खाटमा सितरिए । प्रेम भाइ आडमै थियो । भोटेकुकुर पालेका रहेछन् प्रेम र अर्को कोपिला दीदीको छोरामिलेर ।

आमाले खाना बनाइसक्नुभएको थियो । खाना खान बोलाउनुभयो । म भान्छाको खाटमा बसेर आमाले बनाएको घरको पहिलो खाना मिठो मानी मानी खाए । छोरो आउने भएछ भनेपछि आमाले अलिकति घ्यूको चोखो हालेर भात, तरकारी पकाउनुभएको रहेछ ।

भैंसी नपालेकाले दशैंलाई भनेर घ्यू बेसाएर नै राख्नुभएको रहेछ आमाले । आमाछोरा कुरा गर्दै पेट पूजा पनि गर्यौ त्यो दिन । दिउँसोपख भने म कपडा धुने र नुवाउने काममा बिजी भए ।

दिउँसोका नास्ता खाएर आमासँग दशैंका दिनहरु बिताए । दशैंको टिकाको दिन नजिकिँदै थियो । नवरात्रीको दिन आँसी, फलाम,जौं, तिल, कुश, पाठपूजाका सामान सँगै पूजा गरियो । सेल्टापुको मेरो दशैं खल्लो खल्लो नै थियो । एकाधबाहेक जमघट गर्ने मान्छेहरु नै भएनन् भन्दा फरक नपर्ला ।
तास खेल्ने, रक्सी खाने मेसो यसपाली मिलेन भन्दा हुन्छ । चितवनबाट कमल छोरो सेल्टापु आएयता भने दशैं केही रमाइलो हुँदै थियो । टिकाको अघिल्लो दिन कमल भाइ र मैले एक/एक क्यान बियर, मासु, भातबाहेक अरु कुरामा पैसा खर्च पनि भएन् भन्दा हुन्छ ।

पाँच भाइ, एक बैनी भएको हाम्रो परिवारमा पनि म र आमाबाहेक अरुसँग जमघट हुने मेसो नै कहाँ जुर्यो र खै ? मेरा जेठा दाइ ओमकान्त र उहाँको परिवार बाराको सिमरामा भएकाले, सुनिता भाउजु टाँडीबाट उता जान सजिलो भयो, म र आमा पनि उतै आउनुपर्छ भनेर ठूला दाइले दशैं अघि देखि नै म्यासेन्जर ग्रुपमा भन्दै आएका थिए ।

मैले सल्लाहा गरौंला । जता लगाए पनि हुन्छ । एकै ठाउँमा लगाऔं भनेकै हो । तर, आमा पनि सिमरा जान मान्नुपर्यो भनेर भनेकै हो नि । आमा मान्नुभएन त ? के म आमा छोडेर सिमरा आऔं ? हुन सक्दैन ।

यसर्थ, यसपालीको दशैंमा आफन्तहरु धेरै छुटे । गुमा दिदी उपरार्थ इन्डिया हुनुहुन्छ । आउन पाउनुभएन घर । साइला मुम्बइ र काइलो शालिकराम दशैंमा फर्कन पाएनन् । माइला टुके दाइ आउन सकेनन् । जेठा भनेका ओमे दाइ सिमरा लगाउने अडानमा थिए ।

म घर पुगेपछि आमाले सिमरा नजाने बताउनुभएको थियो । म पनि सिमरा जाने कुरामा आमालाई जोडबल लगाउन चाहन्नथे । टिकाको दिन आमाको हातको टिका लगाइयो । जमरा कानमा, प्रेम र कमल टिका लगाएका फोटो खिच्न ब्यस्ता थिए ।

टिकोटाले सकेर मैले खाना खाएँ । आमाले भने खानुभएन् । सिता छोरी ज्वाँइ आउने भएकाले टिको लगाएर मात्रै खाने आमाको अडान थियो । मैलै आमालाई हस्तक्षेप गरिन् । मैले भने खाएँ । घरमा टिका लगाउने अरु आफन्त आउने सम्भावना भएकाले बाहिर कतै गइनँ। टिकाको दिन सकियो । यसै गरी दशैंको मेरो आफ्नो अनुभव बन्यो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१