याे देश कसले बनाउला ? जनताले चाहेकाे नेतृत्व कहिले पाउँछन् ?

  • बीपी काेइराला, गणेशमान, किशुनजी, मदन भण्डारी, पुष्पलालकाे भजन कहिलेसम्म गाउने ?
  • २५० वर्ष अगाडिदेखि सार्वभौम राष्ट्रको रूपमा चिनिएको, सगरमाथा भएको, शान्तिकाे प्रतिक गौतम बुद्ध जन्मिएको, हिमालै हिमाल र मन्दिर नै मन्दिर भएकाे, जल जढिबुटी जंगलले भरिएको, भाैगाेलिक सँगसँगै माैसमी विविधता भएकाे देश नेपाल किन दाेस्राे विश्वयुद्ध पछि नामाकरण भएकाे देशभन्दा पनि माथि उठ्न सकेन ? भ्रष्ट्राचार र अनियमितताले चुर्लुम्म डुबेको नेपाल कर्मचारीकाे बेथिति र विभिन्न किसिमका सिन्डिकेटबाट किहिले माथि उठ्ने ?

    राष्ट्रिय तथा अन्तर्राष्ट्रिय नीति फराकिलाे बनाउन नसक्नु, अन्तर्राष्ट्रिय बहु प्रतिष्ठित कम्पनीहरु नेपालमा आउने वातावरण बनाउन नसक्नु, विदेशी लगानी भित्र्याउन खुकुलाे नीति नहुनु, निजी क्षेत्र र उद्यमी नागरिकलाई काम गर्ने वातावरण बनाउन नसक्नु नेतृत्वकाे कमजाेरी छ । हामीले रोजेको राज्यव्यवस्थामा सरकारले निजी क्षेत्र र उद्यमी नागरिकहरूलाई काम गर्ने अनुकूल वातावरण यसका लागि आवश्यक नीति नियम तर्जुमा गरिदिने, सहजीकरण गरिदिने आजको आवश्कता हो ।

    नेपालकाे अस्थिरताकाे सरकार, फितलो राजनीतीक कम्युनिष्ट तथा गैर कम्युनिस्ट, भाले न पोथी जस्ता आफ्नो कुनै योजना बिनाका दलहरु, राजावादी तथा प्रजातन्त्रका हिमायती हुँ भन्ने प्रजातन्त्र पार्टीहरुबीचकाे आफू अनुकुलको समीकरणले वास्तवमा नै स्थिर सरकार हुन नसक्नु, राजनीतिक दाउपेचले आफ्नो स्वार्थ अनुरुप कुनै व्यक्ति विशेष पार्टीलाई षड्यन्त्रमूलक रुपमा सत्ता र शक्तिको दुरुपयोग गरी राजनीतिक प्रतिशाेध राखेर प्रहार गर्ने किसिमका व्यवहारले सुसंस्कृत, सुशासित र समृद्ध नेपाल साकार हुन सक्दैन ।

    नेपालमा राजगारीकाे समस्या दिनप्रतिदिन बढ्दाे छ । दैनिक विदेशिने युवाकाे संख्या कहालीलाग्दाे छ । विदेशिएका युवाहरु विभिन्न किसिमकाे घटनामा परी ज्यान गुमाउँदासमेत सरकारले उचित ध्यान दिएकाे पटक्कै देखिँदैन । समयक्रमअनुसार देशमा विभिन्न किसिमका आन्दाेलन जनआन्दाेलन भए व्यवस्था परिवर्तन भयाे तर नागरिककाे अवस्था झन् बिग्रँदाे स्थितिमा छ । निरंकुश राजतन्त्र हुँदा होस् वा जहानियाँ राणाशाही, निर्दलीय पञ्चायती व्यवस्था हुँदा होस् वा बहुदलीय संसदीय लोकतन्त्र वा अहिलेको संघीय लोकतान्त्रिक गणतन्त्र-कुनै प्रणालीले पनि देशलाई सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध बनाउन सकिएन ।

    नेपालको विकास गर्न कुन व्यवस्था ठिक हो ? प्रत्यक्ष निर्वाचित राष्ट्रपति हुने अमेरिकी प्रणालीमा जर्ज वासिङटन, अब्राहम लिंकन, फ्राकलिन डि. रुजबेल्ट जस्ता दर्जनबढी सफल र असल राष्ट्रपतिको उदय भयाे । अर्कोतिर- संसदीय प्रणालीबाट बेलायतका वेन्ष्टन चर्चिल, भारतका जवाहरलाल नेहरू, सिंगापुरका लि क्वान यु र न्युजिल्याण्डकी ज्यासिन्डा अर्डन जस्ता प्रधानमन्त्री उदाए । एकदलीय कम्युनिष्ट प्रणालीबाटै चीनमा देङ सियाओ पिङकाे उदय भयाे । यी सब उदाहरण हेर्दा व्यवस्था जस्ताे भए पनि विकास र समृद्धिकाे दूरदर्शी व्यक्तिले नेतृत्व लिनुपर्ने प्रष्ट देखिन्छ ।

    कुनै पनि देशमा संविधान अनुसार सुशासनको संस्कार चलाउने अधिकार भएको प्रमुख व्यक्ति भनेकै सरकार प्रमुख र प्रमुख शासकले देशमा सुशासन, अर्थतन्त्र विकास गर्न कडा अडान लिने हाे भने कसैको केही चल्दैन । २५० वर्ष अगाडिदेखि सार्वभौम राष्ट्रको रूपमा चिनिएको देश नेपाल र हामी नेपाली नागरिक दोस्रो विश्वयुद्धपछि सन १९४८ मा बल्ल अस्तित्वमा आएकाे इजरायललगायतका देश आर्थिक विकाससँगै छाेटो समयमा सामरिक रुपमा शक्तीशाली बनेकाे छ । यी देशहरुबाट हाम्रा विसं १०४६ देखि अहिलेसम्म सरकारकाे नेतृत्व गरिरहेका नेता र तिनका राजनीतिक दलका नेताले सिक्नुपर्ने हाेइन ?

    उदारण दक्षिण कोरियाका पार्क चुङ्ग-हि, सिङगापुरका ली क्वान-यिउ, मलेसियाकाको महाथिर महम्मद, चीनका तङसियाओ-फिङ, इजरायललगायत एसियाली देशहरुले छोटो समयमा गरेको अर्थतन्त्रको द्रुत विकासकाे नमूना हेर्ने र त्यहाँबाट सिकेर देश समाजको आवश्यकता अनुसार व्यवहारिकतामा कहिले ल्याउने ?

    नेपालका विभिन्न बाैद्धिक समूह, मानवअधिकारबादी, पत्रकार जस्ता गैर राजनीतिक समूहले र नेपाली स्वच्छ नागरिककाे नाताले राष्ट्रियता र नेपालको सार्वभाैमबारे सरकारलाई खबरदारीसँगै सुझाव दिनुपर्ने हाे तर त्यसमा उनीहरु राजनीतिक रुपमा नै रुमलिएजस्ताे भान भइरहेकाे छ ।

    कैयौं युग बिते, कैयौं शासन व्यवस्था परिवर्तन भए । तर, जनताले सभ्य, सुसंस्कृत, सुशासित र समृद्ध नेपालको परिवर्तनको अनुभूति गर्न अझै पाएनन् । यस्तो नेतृत्व गर्ने जनताको नेता नेपाली नागरिकले कहिले पाउने ? नेपाल देश बन्ला र जनतामा समृद्धि आउला, सुखी र खुसी जीवन बिताउँला भन्ने आशै आशामा नेपालीहरु अझै पनि छन् । यही आशा देखाएर राजनीतिक दलले अहिलेसम्म पनि नागरिकमाथि राजनीति गरिरहेका छन् । तर, नेपालीको भाग्य र भविष्य अझै अनिश्चित छ । देश किन बनेन ? कहिले बन्ला ? कसले बनाउला ? बनाउन के गर्नुपर्छ ? नेतृत्व कस्ले गर्ने ? सुसंस्कृत, सुशासित र समृद्ध नेपाल बनाउने नेता कहिले पाउने भन्ने जिज्ञासा हरेक नागरिकको मन मस्तिष्कमा मडारिरहेकाे छ ।

    © 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१