काठमाडौँ। नयाँ आर्थिक वर्ष २०८३/०८४ को पहिलो कारोबार दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा उल्लेख्य सुधार देखिएको छ। नेप्से ७९.७४ अंक अर्थात् ३.०६ प्रतिशतले बढेर २६७७.५४ बिन्दुमा पुगेको हो।
बजारमा उल्लेख्य उछाल आए पनि कारोबार रकम भने अपेक्षाअनुसार बढ्न सकेन। आज ३३५ कम्पनीका १ करोड ३ लाख ८९ हजार ७७ कित्ता शेयर ५८ हजार ९४ पटकको कारोबारमार्फत ४ अर्ब ५७ करोड रुपैयाँ बराबरमा किनबेच भएका छन्। अघिल्लो कारोबार दिन ३७१ कम्पनीका ९४ लाख ६९ हजार ९९ कित्ता शेयर ४ अर्ब ५६ करोड २९ लाख ५० हजार रुपैयाँमा कारोबार भएको थियो।
आज २५९ कम्पनीको शेयर मूल्य बढेको, १३ कम्पनीको घटेको तथा २ कम्पनीको मूल्य स्थिर रहेको छ।
शेयर मूल्य वृद्धितर्फ श्रीनगर एग्रिटेक इन्डस्ट्रिजमा सकारात्मक सर्किट लाग्दै करिब १५ प्रतिशत वृद्धि भएको छ। कम्पनीको शेयर मूल्य प्रतिकित्ता १२५ रुपैयाँले बढेर ९६३ रुपैयाँ पुगेको हो। त्यसैगरी सूर्यकुण्ड हाइड्रो १४.८३ प्रतिशत, शिखर पावर डेभलपमेन्ट १२.५४ प्रतिशत, रिज लाइन इनर्जी १२.०६ प्रतिशत तथा मिड सोलु हाइड्रोपावर १२.०५ प्रतिशतले बढ्दै सर्वाधिक कमाउने कम्पनीको सूचीमा परेका छन्।
कारोबार रकमका आधारमा आँखुखोला जलविद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, रिलायन्स स्पिनिङ मिल्स, रिडी पावर कम्पनी र ङादी ग्रुप पावर अग्रस्थानमा रहे। त्यसपछि एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट, नेशनल हाइड्रो पावर, मञ्जुश्री फाइनान्स, कुमारी बैंक र सिटी होटलको शेयरमा पनि उल्लेख्य कारोबार भएको देखिएको छ।
समूहगत सूचकतर्फ म्युचुअल फन्ड बाहेक सबै उपसूचक हरियालीमा रहे। उत्पादन तथा प्रशोधन समूह ४.६० प्रतिशत, जलविद्युत ४.५८ प्रतिशत, लगानी ४.१२ प्रतिशत, होटल तथा पर्यटन ३.६६ प्रतिशत, फाइनान्स ३.३९ प्रतिशत, अन्य २.७७ प्रतिशत, जीवन बीमा २.७४ प्रतिशत, वाणिज्य बैंक २.४१ प्रतिशत, विकास बैंक २.१८ प्रतिशत, निर्जीवन बीमा २.११ प्रतिशत र माइक्रोफाइनान्स १.८० प्रतिशतले बढेका छन्। म्युचुअल फन्ड उपसूचक भने ०.२९ प्रतिशतले घटेको छ।
यसबीच, नेपाल राष्ट्र बैंकले शेयर धितोमा ८० प्रतिशतसम्म ऋण लिन पाउने व्यवस्था गरेपछि लगानीकर्ताको मनोबल बढेको र त्यसको प्रभाव बजारमा देखिएको विश्लेषण छ।