• २०८३ असार १५
  • 2026 June 29, Monday

आजदेखि भक्तपरु महोत्सव –२०८१ सुरु

काठमाडौं । भक्तपुर नगरपालिकासँगको समन्वय र भक्तपुर युवा टिम गोल्मढीको आयोजनामा हुन लागेको भक्तपुर महोत्सव २०८१ आजबाट सुरु भएको छ ।भक्तपुरको महेश्वरी खेल मैदानमा आजदेखि सुरु भएको महोत्सव पौष २ गतेसम्म चल्ने छ ।
आयोजकका अनुसार महोत्सव अन्र्तगत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला हुने छ ।

सास्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् । त्यसका लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएको छ । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बासुरी बाजा समूहबीच प्रतियोगिता हुनेछ । ती बाजा टोलीहरूमध्ये मंसिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मंसिर ३० गते बाकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएको छं ।

प्रतियोगिताको पुरस्कार वितरण मंसिर ३० गते काठमाडौंमा गरिने छ ।प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभा चित्र प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा तस्वीर प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्रीवितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाएको छ ।व्यापार मेलामा झन्डै १ सय स्टल रहने र जसमा व्यापार मेलामा मानवीय दैनिक जीवनमा प्रयोगमा आउने दैनिक उपभोग्य सामाग्री, विभिन्न लत्ताकपडा, खाद्यान्न, अटोमोबाइल, जुत्ता, कृषि तथा हस्तकला सामग्री प्रदर्शनी, सांस्कृतिक, व्यापार तथा पर्यटकीय सामग्रीहरु राखिने आयाकजले जनाएको हो छ।