चितवनविरुद्ध विराटनगरको फराकिलो जित

काठमाडौं । विराटनगर किङ्सले चितवन राइनोजविरुद्ध फराकिलो जित हासिल गरेको छ । विराटनगरले दिएको १८२ रनको विशाल लक्ष्य पछ्याउने क्रममा चितवन ५१ रनले पछि परेकाे हाे ।

त्रिवि मैदान कीर्तिपुरमा शुक्रबार भएको खेलमा टस जितेर ब्याटिङ गरेको विराटनगरले ५ विकेट गुमाएर १८१ रनको योगफल तयार पारेको थियो ।

विराटनगरका लागि बसिर अहमदले विस्फोटक ब्याटिङ गरेका थिए । उनले ४४ बलमा चार छक्का र चार चौका प्रहार गर्दै सर्वाधिक ६८ रन बनाए ।

यस्तै, मार्टिन गुप्टिलले ४५, राजेश पुलामी ३३, निकोलस किर्टन ८ र दीपक बोहराले ४ रन जोडे । यो खेलमा विराटनगरले अतिरिक्त २३ रन प्राप्त गरेको थियाे ।

जवाफी ब्याटिङ गरेको चितवन राइनोजले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर जम्मा १३० रन मात्रै बनायो ।

चितवनका लागि अमर रौतेलाले ४२ रन, सन्तोष कार्कीले २८, कप्तान कुशल मल्लले २५ र रवि बोपाराले २० रन जोडे ।

यता विराटनगरका लागि कप्तान सन्दिप लामिछानेले दुई विकेट लिँदा, बसिर अहमद, सुवास भण्डारी, क्रिस सोल र लोकेश बमले समान एक-एक विकेट हात पारे ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१