• २०८३ साउन १
  • 2026 July 17, Friday

संसदलाई प्रभावकारी बनाउन कानून निर्माण र कार्यान्वयनमा धेरै काम गर्न आवश्यक : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले संसदलाई प्रभावकारी बनाउने र राज्यलाई निर्देशित गर्ने, कानून निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् ।

शुक्रबार अठारौँ सङ्घीय संसद् सेवा दिवसका अवसमा आयोजित समारोहमा उनले संसद सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको भन्दै यसलाई प्रभावकारी बनाउन सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्ने बताएका हुन् ।उनले भने,‘संसद्को कामकारबाही जति प्रभावकारी हुन्छ, सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुन्छ । संसदलाई प्रभावकारी बनाउने, राज्यलाई निर्देशित गर्ने, कानुन निर्माण र कार्यान्वयनमा अझै धेरै काम गर्नुपर्ने खाँचो छ । अपुरा कानुनलाई पूरा गर्ने, आइरहेका चुनौतीलाई सामना गर्नका लागि सुधारका विभिन्न योजना बढाइएको छ, संसद् सेवालाई प्रविधिमैत्री तुल्याउने प्रयत्न भइरहेको छ । संसद् सेवालाई प्रभावकारी बनाउन गर्नुपर्ने विभिन्न क्षेत्रका कामहरूका सूची तयार गरौँ, यसलाई प्रभावकारी बनाउन खेल्नुपर्ने भूमिकालाई सिङ्गो सचिवालय एकताबद्ध हुनुपर्छ ।’

उनले सरकारका गतिविधि र जनताले पाउने परिणाममा बढोत्तरी हुने भन्दै संविधानले परिकल्पना गरेअनुसार संसदीय ऐन बनाउने काममा तिव्रता दिन सबैको साथ र सहयोग जुटाउन पहलकदमीको आवश्यकता रहेको बताए ।यस्तै,राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न ढिलाइ गर्न नहुने बताए ।उनले भने,‘यसका लागि विद्यमान कानूनी व्यवस्था, परीक्षा प्रणाली, कर्मचारीलाई दिइने सेवा सुविधा र संरचनामा पनि परिमार्जन गर्नुपर्छ । संसद्लाई अझ सक्षम, प्रभावकारी र बलियो बनाउन संसद् सेवालाई समयानुकूल परिमार्जन गर्न अब ढिलाइ गर्नुहुँदैन ।”त्यस्तै,कानून, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले जनप्रतिनिधिले गर्ने कामलाई संवैधानिक हिसाबले व्यवस्थित गर्ने जिम्मेवारी संसद् सेवाका कर्मचारीको भएको उल्लेख गरे ।