काठमाडौं । सार्वजनिक सेवा प्रसारण संस्थाका सञ्चालक समितिका नवनियुक्त अध्यक्ष डा. महेन्द्र विष्टले कर्मचारीसँग परिचयात्मक कार्यक्रम गरेका छन् ।
बुधबार एक विशेष समारोहकाबीच उनले कर्मचारीसँग परिचयात्मक सम्बोधन कार्यक्रम गरेका हुन् ।उक्त कार्यक्रममा बोल्दै उनले मिडिया इन्डष्ट्रि धेरै कमजोर अवस्थामा रहेको भन्दै हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गएको बताएका हुन् ।उनले भने ,‘हामी सिरियसली भएर काम गरौं । अहिले मिडिया इन्डष्ट्रि एकदमै कमजोर भएको छ । ध्वस्त भएर गैइसक्यो ।
हामी सोचौं एकछिन हरेक पुग्नुपर्ने क्षेत्रमा रिपोर्टर पुग्नै छोड्दा मिडिया क्षेत्र ध्वस्त हुँदै गैइरहेको छ । मान्छे बजारमै जाँदैनन् ।’
साथै उनले रेडियो नेपालको ठूलो इतिहास भएको बताए । उनले नेपाल टेलिभिजनको इतिहासमा प्रश्नहरु उठे पनि रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ भएको बताए ।उनले भने, ‘हामीहरुसँग जे उपाय हुन्छ त्यो सबैले प्रयोग गरौं । र सबैको आइडिया मिसाएर हामी मिडियाको लागि धेरै राम्रो काम गर्न सक्छौं । आफ्नो जे जे संमयन्त्रहरु छन् त्यसलाई प्रयोग गर्नुपर्छ अब रेडियो नेपाल र नेपाल टेलिभिजनको लागि । रेडियो नेपालको ठूलो इतिहास छ । नेपाल टेलिभिजनको इतिहासमा बरु प्रश्नहरु उठ्न सक्ला, यसलाई चाँही महाराज धितराजको प्रसारण गर्न पाएको भनेर प्रश्न उठ्लान तर रेडियो नेपाल क्रान्तिको आवाज भएकाले प्रश्न उठ्नै नसक्ने ठाउँ छ ।’