बागलुङ । नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति, क्षेत्र नं. १ बागलुङले पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूसँग १ दिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुलाई स्थानीय शासन, जनसञ्चार, नीति निर्माण, सार्वजनिक सेवा र पार्टी तथा जनप्रतिनिधि बीचको सम्बन्धका बारेमा महत्वपूर्ण जानकारी र सीपहरू प्रदान गर्ने उद्देश्यले प्रशिक्षणको आयोजना गरिएको थियो ।

प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसको विचार, असल अभ्यास तथा अनुशासनका विषयमा नेपाली काँग्रेसका नेता प्रशिक्षक देवराज चालिसे, जनप्रतीनिधि र पार्टी विचको सम्वन्ध तथा योजना तर्जुमा, समन्वय, समसामायिक परिवेश र सामाजिक सञ्जालको प्रयोग एवं प्रचार प्रसार सम्वन्धमा नेपाल सरकार स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहाकार नेपाली काँग्रेस नीति तथा प्रशिक्षण विभागका सदस्य प्रताप पौडेल र जनप्रतिनिधिको काम, कर्तव्य, अधिकार, योजना निर्माण तथा सेवा प्रवाहका सम्वन्धमा नेपाल सरकारका उपसचिव हरिवहादुर भुजेलले प्रशिक्षण गरेका थिए ।

प्रशिक्षणमा पार्टीबाट निर्वाचित गण्डकी प्रदेश सभा सदस्य, पालिका प्रमुख, उपप्रमुख, जिल्ला समन्वय समिति सदस्य, कार्यपालिका सदस्य, वडा सदस्य गरी ९५ जनाको उपस्थिति रहेको थियो । प्रशिक्षणका क्रममा बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्तकुमार श्रेष्ठ, काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापा, जैमीनी नगरपालिकाका उपप्रमुख हरिहर शर्मा र बरेङ गाउँपालिका वडा नं. ५ का वडा अध्यक्ष अमरवहादुर शेरपुजा लगायतले जनप्रतिनिधिको रुपमा आफ्ना अनुभव, चुनौतीहरू र स्थानीय सरकारका योजनाहरूको प्रभावकारी कार्यान्वयनका बारेमा विचार व्यक्त गरेकाे थियाे ।


क्षेत्रीय समितिले हिजो मात्रै पार्टीको संगठन सुदृढीकरण, निर्वाचित जनप्रतिनिधि र पार्टी संरचनाबीच समन्वय, क्रियाशील सदस्यताको व्यवस्थापन र आगामी कार्यदिशा तय गर्ने लक्ष्यसहित क्षेत्र नं. १ का ४ पालिका र ३७ वडाबाट ११८ जना सभापति र सचिवहरुको उपस्थितिमा प्रशिक्षण सम्पन्न गरेको थियो ।

कार्यक्रम नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ का सभापति चण्डिप्रसाद शर्मा पौडेलको अध्यक्षता, स्वागत र कार्यक्रमको उद्देश्य माथि प्रकाश, नेपाली काँग्रेस निवर्तमान जिल्ला सभापति एवं गण्डकी प्रदेश सभा सदस्य माननीय दिपेन्द्रवहादुर थापाको सुरुवात मन्तव्य र नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमिति क्षेत्र नं. १ का सचिव जयराम भारीको सञ्चालनमा सम्पन्न भएको थियो ।

नेपाली काँग्रेस प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिले पार्टीको संगठन सुदृढीकरण, पार्टीले गरेका राम्रा अभ्यासहरुको प्रचार प्रसार, जनप्रतीनिधि र पार्टीबीचको सम्वन्ध सदृढिकरण गर्ने उद्देश्यले एक वर्षभरी निरन्तर कार्यक्रम गर्ने क्षेत्रीय सभापति पौडेलले जानकारी गराए । समितिले पौष ५ गतेदेखि सुरु हुने गरी ३ महिनाका लागि जनता जगाऔं, काँग्रेस बढाऔं अभियान सञ्चालन गर्न लागेको समेत पौडेलले बताए ।









