• २०८३ असार ११
  • 2026 June 25, Thursday

संविधान संशोधन प्रक्रिया चाँडै सुरु हुन्छ : गृहमन्त्री

काठमाडौं । गृहमन्त्री रमेश लेखकले सरकारले संविधान संशोधनको नाममा समावेशितालाई कमजोर गर्ने नभई थप सुदृढ बनाउने प्रतिवद्धता जनाएका छन् ।

मंगलबार नेपाल राष्ट्रिय दलित समाज कल्याण संघको नवौं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले सबै दलहरुसँग सहमति जुटाएर संविधान संशोधनको प्रकृया सुरु गर्ने बताए ।उनले भने, ‘संविधान संशोधन छलफल प्रारम्भ गरेका छौं । संविधानको समिक्षा गर्छौं । विषयहरुको पहिचान गर्छौं । चरणबद्ध रुपमा सबै राजनीतिक दलहरुसँग वार्ता र संवाद गर्छौं र त्यसपछि विषयवस्तुमा सहमति गरेर संशोधन हुन्छ । यसमा समय लाग्छ । तर त्यो प्रक्रिया अगाडि बढ्छ ।

संविधान संशोधन गर्ने भनेको समावेशितालाई कमजोर गर्ने होईन् थप सुदृढ बनाउने हो । म यो प्रतिवद्धता जनाउँछु ।’उनले सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध रहेको पनि उनले बताए ।उनले भने,‘संघीय लोकतन्त्रात्मक शासन प्रणाली व्यस्थामा छौं । संविधानको मूल मर्म भएको हुनाले के आग्रह गर्न चाहन्छु भने नेपाल सरकार संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र समावेशी चरित्रको राज्य निर्माणमा प्रतिवद्ध छ । हामी हमेसा प्रतिवद्ध रहने छौं ।’