• २०८३ साउन १
  • 2026 July 17, Friday

जनमत पार्टीकाे निर्णय : सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य

काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले नेता कार्यकर्तालाई सामाजिक सञ्जालमा नेतृत्वको विषयमा सकारात्मक पोष्ट अनिवार्य गरेकाे छ ।

आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका आफ्ना पदाधिकारीहरूलाई जिम्मेवार, अनुशासित र दीर्घकालीन रूपमा सफल बनाउनका लागि पदाधिकारीहरूलाई पार्टीको सकारात्मक प्रचार-प्रसारमा अनिवार्य जोड्न र त्यसलाई अनुगमनसमेत गर्ने निर्णय गरेको हाे ।

उनका अनुसार पार्टीका सम्पूर्ण पदाधिकारीहरूले सामान्यतः हरेक दिन पार्टी वा नेतृत्वको विषयमा सकारात्मक पोस्ट सामाजिक सञ्जाल (फेसबुक, एक्स, टिकटक आदि) मा गर्नु पर्नेछ ।

बैठकको निर्णयमा भनिएको छ, ‘पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले सो पोस्ट गरे-नगरेको एउटा सामाजिक सञ्जाल अनुगमन समितिले अनुगमन गर्ने र मासिक रूपमा प्रतिवेदन पेश गर्नेछ । मासिक रूपमा २० वटा बढी पोस्ट आए राम्रो, १०–२० आए औसत, ३–१० पोस्ट आए सामान्य र ३ भन्दा कम पोस्ट आए निष्क्रिय मानिनेछ। सो मूल्याङ्कन अन्य जिम्मेबारी तोक्दा प्रयोग गरिनेछ, राम्रो गर्नेलाई पुरस्कृत गर्ने तथा निष्क्रिय हुनेलाई एक तह घटुवा गर्ने वा जिम्मेबारीबाट हटाउनेसम्मको सिफारिस गर्न सकिनेछ ।’

पार्टीका केन्द्रीय सदस्य, प्रदेश सदस्य र जिल्ला मूल समितिका सदस्यहरूहरूले पुस मसान्तसम्ममा आ-आफ्नो सामाजिक सञ्जाल अनुगमन समिति गठन गर्न समेत निर्देशन दिइएको छ ।

पार्टीका पदाधिकारी तथा सदस्यहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा पार्टीको विरूद्धमा अभिव्यक्ति दिने, बोल्ने/लेख्ने वा पार्टीको छविमा आँच आउने वा पार्टीलाई अहित हुने गतिविधि गर्न नपाइने भएको छ ।