• २०८३ असार ११
  • 2026 June 25, Thursday

केपी ओलीमाथि खनिए भीम रावल, ७ जना नेतालाई धन्यवाद !

काठमाडौं । नेकपा एमालेबाट निष्कासित भएका नेता भीम रावलले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्रीसमेत रहेका केपी शर्मा ओलीको चर्को आलोचना गरेका छन् ।

उनले आफूलाई एमालेले नभई ओली गुटले कारबाही गरेर पार्टीबाट निकाले बताए । उनले भने ‘मलाई पार्टीले कारबाही गरेको होइन । ओली गुटले नरुचाएको हो । सदस्यता नै खोसिएपछि विकल्प खोज्न बाध्य भएँ ।’

रावलले एमालेमा आफूले गरेको संघर्ष र विभिन्न कमिटीमा रहेर निर्वाह गरेको भूमिकाको स्मान हुन नसकेको गुनासो गरेका छन् । आफूलाई चितवनमा सम्पन्न महाधिवेशनमा ओलीसँग प्रतिस्पर्धा गरेको भन्दै कारबाही गरिएको भनिएको बताउँदै रावलले ओलीलाई पनि किन झलनाथ खनाल र माधव नेपालसँग अध्यक्षमा प्रतिस्पर्धा गरेको भन्दै प्रश्न पनि गरेका छन् ।

रावलले कवितामार्फत नै पत्रकार सम्मेलनमा सम्बोधनको सुरुवात गरेका थिए । केपी ओलीलाई लक्षित गर्दै कयाैँ प्रश्न गरेका छन् ।

सिद्धान्त सोधे उत्तेजित हुने, के रोग लाग्यो नि,
गन्तव्य सोधे लाठो नै लाउने के झोँक जाग्यो नि
तथ्य र सत्य घोच्दछ तिम्लाई, के भयो भनन
के दियौ देशलाई घरिना हुँदा कुरा त सुनन

सुनलाई पित्तल, पित्तललाई सुन किन पो भन्दछौ ?
रातदिन केवल सत्ताको हिसाब लुब्ध भई गन्दछौ
चामल र ढुंगा उस्तै हो भन्छौ स्वार्थको बगरमा
फनफनी जनता घुमाउँछौ किन त्यो कालो कहरमा

भनन भन, तृप्ति तिमीलाई कहिले हुने हो
भ्रष्ट आचार बेलगाम कृते असह्य हुने भो
सामूहिक घर कसरी भन्छौ एकलौटी मेरै हो
पाखण्ड तन्त्र अवसर तन्त्र अब त धेरै पो

यहाँ मातृभूमि चित्कार गर्छिन्, अटट्हाँस गर्दछौँ
स्वाधीनता गौरव जोगाउनुपर्दा लुसुक्क पर्दछौँ
नठान यहाँ स्वाभिमान हाम्रो मरेर जानेछ

७ जना नेतालाई धन्यवाद !

रावलले एमाले अध्यक्ष केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा ७ जना नेताले विरोध गरेकाे भन्दै उनीहरुलाई धन्यवाद पनि दिएका छन् ।

उनले भने, ‘पार्टीको गरिमामाथि धब्बा नलागोस् भनि अभिव्यक्ति दिनुहुने स्थायी कमिटीका सदस्य बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सिलाई निलम्बन गरियो । मलाई पार्टीको सदस्यबाटै हटाइयो । केपी ओलीले कारबाहीको प्रस्ताव गर्दा त्यसको विरोध गर्ने ७ जना नेतालाई धन्यवाद ।’

रावललाई कारबाही र दुई नेतालाई निलम्बन गर्ने प्रस्ताव हुँदा नेताहरु अष्टलक्ष्मी शाक्य, प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराईलगायतले विरोध गरेका थिए ।