मन्थली नगरपालिकाले पास गर्यो चारवटा विधेयक

काठमाडौ । मन्थली नगरपालिकाको १६ औँ नगर सभाले चारवटा विधेयक पास गरेको छ ।मन्थली नगरपालिको पत्रकार सम्मेलन गरी सभाले चारवटा विधेयक पास गर्नुका साथै भिन्न प्रस्तावहरू समेत पास गरेको जानकारी दिएको हो ।

पत्रकार सम्मेलनमा नगरपालिकाका प्रवक्ता गोपाल श्रेष्ठले सभाले कर तथा गैरकर विधेयक, आर्थिक ऐन २०८१ संशोधन विधेयक, विनियोजन ऐन २०८१ संशोधन विधेयक र नगर अस्पताल व्यवस्थापन तथा सञ्चालन विधेयक पास गरेको जानकारी दिए ।सभाले न्यायिक समितिको प्रतिवेदन तथा बालमैत्री नगर घोषणा कार्ययोजना पनि स्वीकृत गरेको छ । त्यसै गरी आगलागी नियन्त्रण र सचेतना कार्यक्रम सञ्चालनमा जोड दिने प्रस्ताव सभाले स्वीकृत गरेको छ ।

यसैगरी मन्थली भुत्त्याहा खोला–टेकानपुर–कठजोर–धोबी सडकलाई सुब्बा कृष्णलाल लोकमार्ग नामकरण गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गरेको छ ।यस आर्थिक वर्षमा राजस्व सङ्कलनतर्फ ३ करोड ८५ लाख आम्दानी हुने लक्ष राखिएकोमा पुस २४ गतेसम्ममा १ करोड ८४ लाख १० हजार रुपैँया सङ्कलन भएको पनि श्रेष्ठले जानकारी दिए ।यस वर्षको लागि १ अरब १ करोड ९७ लाख ८१ हजार रुपैँयाको बजेट स्वीकृत भएकोमा पुस अन्तिम सम्ममा चालु तर्फ ३६.६५ तथा पुँजीगत तर्फ ९ प्रतिशत खर्च भई जम्मा २८ प्रतिशत बजेट खर्च भएको पनि उनले जानकारी दिए ।

नगर उप–प्रमुख ईश्वरी बस्नेतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पत्रकारहरूले राखेको जिज्ञासाका बारे श्रेष्ठका साथै उपप्रमुख बस्नेत, प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटा उप–सचिव हेमन्त बुढाथोकीले दिएका थिए ।पत्रकारहरूले रामेछापकै गौरवको रूपमा रहेको तीनलाल पार्कको नाम नै फेर्ने गरी पार्क सञ्चालनको जिम्मा लिएको फार्मले नाम परिवर्तन गरेको प्रति नगरपालिकाको ध्यानाकर्षण गराएका थिए ।
त्यस्तै नगरपालिकाका योजना अनुगमनमा पत्रकारलाई पनि सहभागी गराउन सुझाव दिएका थिए । नगरपालिकाको तर्फबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरिएको थियो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१