• २०८३ साउन १
  • 2026 July 17, Friday

नयाँ प्रविधिहरुलाई विकासमा जोड्न आवश्यक : मन्त्री भण्डारी

काठमाडौं । नेपाल उड, फर्निचर तथा होम टेक्सटायल अन्तर्राष्ट्रिय प्रदर्शनीको दशौं संस्करण सुरु भएको छ ।

शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा मिडिया स्पेस सोलुसन्स प्रा.लिले आयोजना गरेको उक्त मेलाको उद्घाटन उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले गरेका हुन् ।उद्घाटनमा बोल्दै मन्त्री भण्डारीले नयाँ प्रविधिहरुलाई भित्र्याएर रोजगारी सृजना गर्न सकेमा निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ र ब्राण्डिङ गर्ने सम्भावना बढ्ने बताए । प्रदर्शनीबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिलाई हाम्रो विकासँग जोड्न सकेमा रोजगारी र निर्यात बढाउन सक्ने उनको भनाई छ ।

उनले भने,‘हामीले नयाँ प्रविधिहरुलाई भित्र्याएर त्यो प्रविधिबाट रोजगारी सृजना गर्न सक्याँ भने र आज हामीले निर्यात गर्ने वस्तुहरुमा पनि त्यसको प्याकेजिङ ब्राण्डिङ गर्ने कुरामा यसले थुप्रै किसिमको सम्भावना देखाएको छ । आजको यो प्रर्दशनिबाट छिमेकी मूलुक भारत र चीनको नयाँ प्रविधिले आजको हाम्रो विकासँग जोड्न सक्यौँ भने रोजगारी र निर्यात बढाउन सक्छौं । वन जंगलको विकासलाई नयाँ आयाम दिन सकिन्छ ।’

आयोकका अनुसार प्रदर्शनीमा स्वदेशी तथा विदेशी ख्याति प्राप्त ब्रान्डहरूका १०० भन्दा बढी स्टल रहने छन् । यस अन्तर्राष्ट्रिय प्रदर्शनीमा फर्निचर, प्लाइवुड, ल्यामिनेट, होम टेक्सटायल, हार्डवेयर, काष्ठ सम्बन्धी मेसिनरी तथा औजार, फर्निसिङ, म्याट्रेस, कच्चा पदार्थ तथा उत्पादनहरूको उल्लेखनीय सहभागिता रहने छ ।साथै ,फर्निचर निर्माता, किचन मेकर, आरा मिलर, बोर्ड मेकर, फिटिङ र कम्पोनेन्ट निर्माता, व्यापारी, वास्तुविद्, भवन निर्माणकर्ता र इन्टेरियर डिजाइनर आदि सबै क्षेत्रका उन्नत मेसिनरी र नवीन उत्पादनहरूको प्रदर्शनीमा सहभागिता रहनेछ । आजदेखि सुरु भएको उक्त मेला आइतबारसम्म चल्ने छ।