स्पेनका लागि नेपाली राजदूत नेपाल स्पेन प्रस्थान

काठमाडौं । स्पेनका लागि आवासीय नेपाली राजदूत सनिल नेपाल स्पेन पुगेका छन् ।राजदूतको कार्यभार सम्हाल्न नेपाल हिजो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट त्यसतर्फ प्रस्थान गरेका हुन् ।राजदूत नेपाललाई राष्ट्रपति रामचन्द्र पौडेलले गत मङ्सिर २८ गते राजदूतमा नियुक्त गरेका थिए ।

सरकारले उनलाई गत साउन १६ गते स्पेनका लागि नेपाली राजदूत नियुक्त गर्न सिफारिस गर्ने निर्णय गरेको थियो । त्यसपछि गत भदौ २७ गते संसदीय सुनवाई भई संसदीय समितिबाट नेपालको नाम अनुमोदन भएको थियो ।यस अघि उनलाई विसं २०८० माघ २६ गते राष्ट्रपति पौडेलले नै पोर्चुगलका लागि नेपाली राजदूतमा नियुक्त गरेका थिए । तत्कालीन माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले २०८० कार्तिक २३ गते पोर्चुगलमा दूतावास स्थापना गर्ने र उनलाई राजदूतमा नियुक्त गर्ने निर्णय भएको थियो ।

कुटनीति, राजनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा क्रियाशील नेपाल अहिले नियुक्त भएका राजदूतमध्ये सबैभन्दा कम उमेरको राजदूत हुन् । उनले यसअघि दर्जनौ अन्तर्राष्ट्रिय दातृ निकायसँगै स्वदेशी तथा विदेशी संघ संस्थाहरुका विभिन्न भूमिकामा रहेर काम गरिसकेका छन् ।उनले स्पेनमा नेपाली राजदूतका रुपमा रहँदा नेपाल र नेपालीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । स्पेनबाट नेपालको अर्थतन्त्र, पर्यटन, संस्कृति, रोजगारी, शिक्षा लगायतका क्षेत्रमा लाभ पुयाउने उपायहरू खोज्ने बताए ।उनलाई सरकारले अर्को युरोपेली मुलुक माल्टाको समेत जिम्मेवारी तोकेको छ । माल्टामा नेपाली दूतावास नरहेकाले उनलाई नै जिम्मेवारी तोकिएको हो ।उनलाई नेपाल सरकारले माल्टाको समेत जिम्मेवारी तोकेर पठाएकोमा माल्टामा रहेका नेपालीहरूले खुसी व्यक्त गरेका छन् । माल्टामा पछिल्लो समय रोजगारीका लागि नेपालीहरू जानेक्रम तीव्र रुपमा बढेको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१