
काठमाडौ । नेपाल विद्युत प्राधिकरणले विद्युतको पोल नहटाउँदा पूर्व पश्चिम लोकमार्ग कञ्चनपुर –कमला ४ लेन सडक निर्माणमा ढिलाई भएको छ । चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले निर्माण गरिरहेको पूर्व पश्चिम लोकमार्गको कञ्चनपुर –कमला ४ लेन सडकको सिरहा जिल्ला क्षेत्रमा मात्र ३ सय ५८ वटा विद्युतको पोल अझै सडकमै छ । प्राधिकरणले पोल नसार्दा साइट क्लियर नभएको भन्दै निर्माण कम्पनीले सडक निर्माणमा ढिलाई गरिरहेको छ ।
लहान शहर क्षेत्रमा मात्र १४७ वटा विद्युतीय खम्बा सडकमै उभिएको छ । गोलबजार नगरपालिका भित्र १०९ , कर्जन्हा नगरपालिका भित्र ५६ र मिर्चैयामा ४६ वटा विद्युतको पोल सडकबाट हटाउन बाँकी छ । शहर बजारक्षेत्रमा सडक निर्माणमा ढिलाई हुँदा धूलो उड्यो भनेर वाराम्वार स्थानीयले आवागमन अवरुद्धपार्ने गरेका छन् । तर विद्युतको पोल नहटाइदिंदा निर्माण कम्पनीले काम गर्न पाएका छैनन् ।
सडक विभाग मिर्चैयाका सूचना अधिकारी इन्जिनियर सरोज कोइराला भन्छन् सडक निर्माणमा ढिलाई भयो भनेर जनता र सरकार दुबैतर्फबाट दवाव आइरहेको छ तर ठेक्का लागेको ५ वर्ष भइसक्दा पनि अझै साइट क्लियर भएको छैन । कोइराला भन्छन् हामीले विद्युत प्राधिकरण लहान र मिर्चैया शाखालाई पोल सार्न छुट्याइएको बजेट गत वर्ष नै हस्नतारण गरेका हौं । तर अहिलेसम्म साइट क्लियर गरिएको छैन । कसरी द्रुत गतिमा काम गर्ने ? चाइना कम्पनीले पोल हटाउन हप्तै पिच्छे ताकेता गर्छ ।नेपाल विद्युत प्राधिकरण मिर्चैया शाखाका प्रमुख मनोज कुमार शर्मा भन्छन् हामीसँग जति जनशक्ति छ त्यसको उपयोग गरेर दैनिक पोल सार्ने कार्य भइरहेको छ ।
पोल सार्दा उपभोक्तालाई विद्युत सप्लाई रोक्नु पर्छ । त्यसकारण उपभोक्तालाई पनि मार पर्नु भएन । सन्तुलन मिलाएर काम गर्दैछौं । विद्युत पोल नसारेकै कारण लहान, गोलबजार , मिर्चैया र कर्जन्हाको बन्दिपुर बजारहरुमा सडक निर्माण कार्य शून्यमा छ ।एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले सडक निर्माणको ठेक्का लिएको हो । कञ्चनपुर –कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाई रहेको छ । कुल १६ अर्व ७७ करोड रुपैयाँमा ठेक्का कवोल गरेको चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो । २८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन ।त्यसपछि २७ डिसेम्वर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानकारी दिएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको ५ वर्षमा पनि काम सम्पन्न नहुने देखिन्छ ।