
काठमाडाैं । राष्ट्र बैंकले गरेको अनुगमनबाट एनआईसी एशिया बैंकका संचालक र सीईओ गम्भीर वित्तीय अपराध गरेको खुलेको छ ।
बैङ्कको मुद्दती खाता (फिक्स डिपोजिट) अन्तर्गतको खाता सञ्चालनमा किर्ते गरेर बैङ्कले अध्यक्षसहित दुई सञ्चालक र उनीहरूको परिवार तथा संस्थाको नाममा रहेको निक्षेपलाई अधिक ब्याज दिने गरेको र त्यस्तो ब्याज दिनकै लागि निक्षेपको समयावधि नै किर्ते गर्ने गरेको पाइएको छ ।
अनुसन्धानका संलग्न अधिकारीहरुका अनुसार बैङ्कका अध्यक्ष तुलसीराम अग्रवाल, सञ्चालकद्वय त्रिलोकचन्द्र अग्रवाल, रामचन्द्र संघाई, उनको परिवार र उनीहरूले सञ्चालन गर्ने कम्पनीको नाममा रहेको निक्षेपको खातामा यस्तो कैफियत गरेर बैङ्कको रकम अपचलन गरेको पाइएको हो ।
बैङ्किङ प्रणालीमार्फत उनीहरूले अध्यक्षसहित ३ जना सञ्चालक, तीनका परिवार र उनीहरूको सञ्चालन गर्ने संस्थाको मुद्दती खाता (फिक्स डिपोजिट) मा बैंकका सामान्य ग्राहकलाई दिने भन्दा बढी ब्याज दिने गरेकाे पाइएकाे हाे । यो सरासर बैंकको नाफा र निक्षेपकर्ताको रकम दुरुपयोग गर्ने नियत भएको राष्ट्र बैंकका कर्मचारी बताउँछन् ।
नियमानुसार बैंक सञ्चालकले आफ्नो र आफ्नो एकाघरको सदस्यका लागि आफू सञ्चालक रहेको बैंकबाट ऋण लिन समेत पाउँदैनन् । तर, आफ्नो र आफ्नो परिवार तथा उनीहरूको संस्थाको निक्षेपमा बढी ब्याज दिएर बैंकको दोहन भइरहेको यो घटनाले देखाएको छ ।
यस्तै, बैंकले कर्जा वर्गीकरण तथा कर्जा नोक्सानीसम्बन्धी निर्देशन, पुँजीकोष तथा जोखिमभारसम्बन्धी निर्देशन, ब्याजदरसम्बन्धी निर्देशन एवम संस्थागत सुशासनसम्बन्धी कतिपय निर्देशनको पालनासमेत नगरेकाे पाइएकाे छ ।