विद्यार्थीले बाँडे विद्यार्थीलाई शैक्षिक सामाग्री

काठमाडौ । विद्यार्थीहरूले सहयोग सङ्कलन गरेर विद्यार्थीलाई नै शैक्षिक सामाग्री वितरण गरेका छन् ।
अनेरास्ववियु मन्थली नगर कमिटीले संगठनको दोस्रो अधिवेशन सम्पन्न भएको एक वर्ष पुरा भएको उपलक्ष्यमा मन्थली नगरपालिका–१४ फुलासीका दुईवटा आधारभूत विद्यालयमा पढ्ने विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।

सो वडाको श्री भीमेश्वर आधारभूत विद्यालयले र श्री मिल्ती जनज्योति आधारभूत विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई विद्यालयमा नै गएर शैक्षिक सामाग्री वितरण गरिएको अनेरास्ववियु मन्थली नगरपालिका कमिटी अध्यक्ष उत्सव केसीले जानकारी दिए ।ती विद्यालयमा अध्ययनरत ५१ जना विद्यार्थीहरूलाई कपि, पेन्सिल, सापनर, इरेजर लगायतका शैक्षिक सामाग्री सहयोग गरिएको उनले बताए ।

कार्यक्रममा संगठनकी केन्द्रीय सदस्य आङलामु शेर्पा, जिल्ला अध्यक्ष पुष्कर भट्टराई, वडाका जनप्रतिनिधि, राजनीतिक दल तथा विद्यार्थी संगठनका नेताहरू लगायतको सहभागिता रहेको थियो । विद्यार्थी संगठनले विद्यार्थीहरूलाई शैक्षिक सामाग्री वितरण गरेर रचनात्मक काम गरेको भन्दै विद्यालयका प्रधानाध्यापकहरुले खुसी व्यक्त गरेका थिए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१