• २०८३ असार १०
  • 2026 June 24, Wednesday

मीनकुमारी राणामार्गको नामाकरणसहितको प्रतिमा अनावरण

काठमाडौ । स्व.मीनकुमारी राणाको तेश्रो पुण्य तिथिका अवसरमा आयोजित कार्यक्रममा सूर्यविनायक नगरपालिका ३ भक्तपुर गणेश आधारभूत विद्यालयसँगैको समाजसेवी मीनकुमारी राणामार्गको नामाकरण सहितको प्रतिमा अनावरण गरिएको छ ।

प्रमुख अतिथि नेपाली काँग्रेसका महामन्त्री एवं सांसद गगन थापा एवं विशेष आतिथि सङ्घीय सांसद दुर्लभ थापाले ले प्रतिमा अनावरण गरेका हुन् ।कार्यक्रममा नगद एकाउन्न हजार एक रुपैयाँ राशिको प्रजातन्त्र सेनानी पुरस्कारबाट तिलकप्रकाश कायस्थ, त्यति नै राशिको वरिष्ठ पत्रकार पुरस्कारबाट श्री आचार्य र वरिष्ठ खेलाडी एवं प्रशिक्षक पुरस्कारबाट प्रचण्ड शर्मा पुरस्कृतलाई पुरस्कृत गरिएको थियोे ।कार्यक्रममा भक्तपुर सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयका जेहनदार विद्यार्थीलाई प्रदान गर्ने गरी ५१ हजार १ रुपैयाँको छात्रवृत्ति हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि थापाले स्व. मीनकुमारी राणाको जीवन र योगदानको उच्च प्रशंसा गरे ।

उनले राणाको लोकतन्त्र र समाजसेवामा समर्पित जीवन नयाँ पुस्ताका लागि प्रेरणादायी रहेको उल्लेख गरे । समसामयिक राजनीतिक अवस्थाबारे बोल्दै थापाले संविधानमा केही सुधार भए पनि आधारभूत कुरामा परिवर्तन नहुने र आवधिक निर्वाचनमार्फत सरकार परिवर्तनलाई स्वाभाविक प्रक्रियाका रूपमा लिनुपर्ने धारणा व्यक्त गरे ।कार्यक्रमका विशेष अतिथि सांसद दुर्लभ थापाले स्व. मीनकुमारी राणालाई एक कुशल, संस्कारयुक्त, र राजनीतिक दृष्टिकोण सम्पन्न व्यक्तित्वका रूपमा स्मरण गरे ।

कांग्रेस केन्द्रीय सदस्य मदनकृष्ण श्रेष्ठले मीनकुमारी राणाको बानी व्यवहारले सधैं आफूहरुलाई उर्जा मिल्ने गरेको स्मरण गरे ।प्रतिष्ठानका सल्लाहकार तथा वरिष्ठ पत्रकार हरिहर विरहीले राणाको परिवार व्यवस्थापन र लोकतान्त्रिक आन्दोलनमा देखाएको नेतृत्वको प्रशंसा गर्दै वर्तमान लोकतान्त्रिक दलहरू विचलित भइरहेकोप्रति चिन्ता व्यक्त गरे । पुरस्कृत व्यक्तित्वहरूमध्ये तिलकप्रकाश कायस्थले युवाहरूले पार्टीभित्र हस्तक्षेपकारी भूमिका खेल्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमका लागि ५ सदस्यीय पुरस्कार छनोट समिति गठन गरिएको थियो । समितिमा प्रतिष्ठानका अध्यक्ष कबिर राणा, वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, वरिष्ठ पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत, र महासचिव रवि राणा सदस्य रहेका थिए ।कार्यक्रममा प्रतिष्ठानका अध्यक्ष कबिर राणाले स्व. मीनकुमारी राणाको योगदान स्मरण गर्दै आमाको पुण्यतिथिमा यसरी कार्यक्रम गर्दै आउनु परिवारको दायित्व रहेको बताए । महासचिव रबि राणाले कार्यक्रमका अतिथिहरूलाई स्वागत गर्दै आमाको योगदानको स्मरण गरे ।

प्रतिष्ठानले पहिलो पुण्यतिथिमा डा. रामवरण यादवद्वारा वरिष्ठ साहित्यकार डा. ध्रुवचन्द्र गौतम, पत्रकार हरिहर विरही, प्रजातन्त्र सेनानी माथवरसिंह बस्नेत, र प्रशिक्षक मदन गुरुङलाई सम्मान गरिएको थियो । दोस्रो पुण्यतिथिमा राष्ट्रपति रामचन्द्र पौडेलद्वारा लेखनाथ न्यौपाने, पत्रकार किशोर नेपाल र प्रशिक्षक प्रकाश थापामगरलाई सम्मान गरिएको थियो ।मीनकुमारी राणा प्रतिष्ठानले स्व. राणाको योगदानलाई चिरस्थायी राख्न हरेक वर्ष यस प्रकारका प्रेरणादायी कार्यक्रमको आयोजना गर्दै आएको छ । आगामी वर्ष पनि यसले निरन्तरता पाउने प्रतिष्ठानका अध्यक्ष कबिर राणाले जानकारी दिए ।