रास्वपाको काम सरकारको विरोध जनाउनु मात्र देखियोः मुकुल ढकाल

काठमाडौं । डा. मुकुल ढकालले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सरकारमा रहँदा अध्यादेश ल्याउन खोजेको बताएका छन् ।

सामाजिक सञ्जालमार्फत उनले आफूहरु सरकारमा छँदा कैयौ अध्यादेशको योजना बनाएको उल्लेख गरेका छन् ।

उनले लेखेका छन् ‘हामी आफैँ सरकारमा हुँदा कैयन अध्यादेशको योजना बुनिरहेका थियौँ । हामी आफैँले ल्याउन खोजेको थुप्रै अध्यादेशमध्ये केही अध्यादेश अहिलेको सरकारले ल्यायो । अब त्यसको विरोध गर्ने रे पार्टीले । त्यहि कुरा हामीले गर्दा राम्रो, अरूले गर्दा नराम्रो ? हामीले गर्दा लोकतान्त्रिक, अरूले गर्दा अलोकतान्त्रिक ?’

राष्ट्रिय स्वतन्त्र पार्टीबाट निस्कासित भएका ढकालले पार्टीको काम सरकारले राम्रो गर्दा होस् या नराम्रो गर्दा विरोध गर्नेमात्र रहेको आरोप लगाएका छन् । विरोध मात्र नगर्ने बरु सिर्जनात्मक बन्ने भन्दै उनी पार्टीमा छँदा विभिन्न नेतालाई सिर्जनात्मक जिम्मेवारी दिएको बताए । तर काम शून्य गरेको उल्लेख गरे ।

उनले रास्वपा नेताहरुको काम विरोध गर्ने रहेको आरोप लगाएका छन् । ‘काम गर्नु रहेनछ कसैलाई, विरोध मात्रै गरेर पुग्ने रहेछ । काम गर्दा, गर्न खोज्दा नै घेराबन्दी गरियो, तिरस्कार गरियो । काम गर्ने होइन, अर्काको विरोध मात्र गर्न पर्न रहेछ । राजनीतिमा काम त गुट बनाउने रहेछ, हल्लिने, भेट्ने, गफ दिने काम रहेछ ।’

उनले थप्दै भने् ‘आफ्नाले जति गल्ती गरे पनि वाह वाह भन्न पर्ने रहेछ , अरूले जे गरे पनि विरोध गर्न पर्ने रहेछ । आफूँले ल्याउने अध्यादेश वाह वाह, अरूले त्यहि ल्याए विरोध गर्न पर्ने रहेछ । देश बनाउने नीति र राजनीति फरक रहेछ । कठै, कसरी बन्छ देश यस्तो तरिकाले ।’

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१