महिला टी-२०आई शृंखला: चाैथो खेलमा पनि नेपाल पराजित

काठमाडौं । काठमाडौंमा जारी नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सम्मिलित महिला टी-२०आई शृंखलाको आफ्नो चौथो खेलमा पनि नेपाल पराजित भएको छ ।

नेपाल थाइल्याण्डसँग ५ रनले पराजित भएकाे हाे । पराजित भएसँगै नेपाल उपाधि होडबाट समेत बाहिरिएको छ ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा थाइल्याण्डले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १०१ रन मात्र बनाउन सक्यो ।

नेपालका लागि कविता जोशीले सर्वाधिक २४ रन बनाए पनि जितका लागि पर्याप्त हुन सकेन ।

थाइल्याण्डका लागि थिपाथ्चा पूथावोङले ४ ओभरमा १० रन दिएर ४ विकेट लिइन् । फनिता मायाले २ विकेट लिइन् ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्याण्डले २० ओभरमा ६ विकेट गुमाएर १०६ रन बनाएको थियो ।

नेपाल पछिल्ला तीनवटै खेलमा पराजित भएको थियो । अब नेपालले बाँकी दुवै खेल जितेपनि उपाधिका लागि पर्याप्त हुने छैन ।

सबै टोलीले एकअर्कासँग ३-३ खेल खेल्ने शृंखलामा थाइल्याण्डको भने यो लगातार चौथो जित हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१