• २०८३ साउन १
  • 2026 July 17, Friday

प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । आइतबार प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक आज दिउँसो १ बजेका लागि बोलाइएको छ । गत १८ गतेदेखि सुरु भएको हिउँदे अधिवेशनअन्तर्गतको तेस्रो बैठक बस्न लागेको हो ।

आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महालेखापरीक्षकको ६१औं वार्षिक प्रतिवेदन पेस गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यजविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक फिर्ता लिने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसैगरी आजको बैठकमा गृहमन्त्री रमेश लेखकले विभिन्न पाँचवटा विधेयक प्रस्तुत गर्ने, अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ समितिको प्रतिवेदनसहितको बैंकिङ कसूर तथा सजाय (पहिलो संशोधन) विधेयक,२०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने छन् । यसका साथै बैंकिङ कसूर तथा सजाय (दोस्रो संशोधन) विधेयक,२०८१ पारित गरियोस् भन्ने प्रस्तावसमेत प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

यसका साथै विधायन विधेयक, २०८० सम्बन्धमा ‘कानून, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदनको विभिन्न बुँदाहरु र विधेयकका दफाहरुलाई निर्णयार्थ प्रस्ततु गरिने कार्यसुचि रहेको छ । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले ‘विधायन विधेयक, २०८१ लाई पारित गरियोस भनी प्रस्ताव प्रस्तुत गर्ने छन् ।