• २०८३ असार १५
  • 2026 June 29, Monday

धनुषधाम बन्यो मधेस प्रदेशकै पहिलो विद्युत चुहावटमुक्त पालिका

काठमाडौ । धनुषाको धनुषाधाम नगरपालिका देशकै तेस्रो र मधेश प्रदेशको पहिलो विद्युत चुहावटमुक्त नगरपालिका घोषणा भएको छ ।

धनुषाधाममा शनिबार आयोजित एक कार्यक्रमकाबीच नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले धनुषाधाम नगरपालिकालाई मधेश प्रदेशको पहिलो चुहावटमुक्त नगरपालिका घोषणा गरेका हुन ।कार्यक्रममा बोल्दै घिसिङले विद्युत सेवाको गुणस्तर सुधार तथा चुहावट नियन्त्रणमा स्थानीय तह, सरोकारवाला र जनताको सहकार्य आवश्यक रहेको र त्यसलाई धनुषाधाले पूर्ण रुपमा निर्वाह गरेको बताए ।

उनले चुहावटमुक्त अभियानले विद्युत आपूर्तिमा सुधार ल्याउने र उपभोक्तालाई नियमित तथा गुणस्तरीय सेवा प्रदान गर्न महत्त्वपूर्ण योगदान दिने धारणा राखेका थिए ।कार्यक्रममा धनुषाधाम नगरपालिकाका मेयर बालेश्वर मण्डलले नगरवासीका लागि विद्युत जरिवानामा सहुलियतको माग गर्दै निर्देशक घिसिङ समक्ष किसानहरुका लागि थप विद्युत सुविधा उपलब्ध गराउन अनुरोध गरेका थिए । कार्यक्रममा नगरपालिकाका बिपन्न नागरिकलाई निःशुल्क मिटर समेत वितरण गरिएको थियो ।