• २०८३ साउन १
  • 2026 July 17, Friday

सामाजिक सञ्जाल विधेयक सरकारको आलोचक दमन गर्ने हतियार : सांसद श्रेष्ठ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले सामाजिक सञ्जाल नियन्त्रण विधेयक सरकारको आलोचक दमन गर्ने हतियारको रुपमा ल्याइएको बताएका छन् ।

सोमबार प्रतिनिधिसभाको बसेको बैठकमा शून्य समयमा बोल्दै उनले कानुन सबैका लागि हो भने सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्ने बताएका हुन् ।उनले भने,‘के हामीसँग यति धेरै जेल छन् ?जहाँ सामाजिक सञ्जाल नियन्त्रण विधेयकपछिका कसुरदारहरू राख्न सकियोस् ? सरकार खुद्रे कुरामा लाखौँ करोडौँ जरिबानाको मेन्यु ल्याउँदैछ ।

नागरिकलाई तपाईं बोल्दै हुनुहुन्छ भनेर धम्क्याइरहेको छ । तर झुटो आश्वासन दिने भ्रम फैलाउने असम्भव बाचा गर्नेहरूचाहिँ उन्मुक्त? के यो विधेयक साँच्चै न्यायका लागि हो कि सरकारको आलोचक दमन गर्ने हतियार? कानुन सबैका लागि हो भने शक्ति र सत्ताबाट झुट बोल्नेहरू पहिलो कारबाहीको सूचीमा पर्नुपर्छ।’त्यस्तै उनले विधेयक मार्फत सरकारले प्राप्त अभिव्यक्ति स्वतन्त्रताको अधिकार खोस्न खोजेको पनि धारणा राखे ।उनले भने,‘गंगालाल, धर्मभक्तले लडेर अभिव्यक्ति स्वतन्त्रताको अधिकार अहिले कुन बयलगाडाको चक्का खुस्किएर अड्किएको हो मैले बुझ्न सकेको छैन । सरकार त्यो बयलगाडाको चक्का लुकाउन खोजिँदैछ ?’