• २०८३ साउन १
  • 2026 July 17, Friday

सरकारले संसदलाई अपहेलना गर्यो : पाण्डे

काठमाडौं । नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सरकारले संसदलाई अपहेलना गरिरहेको बताएका छन् ।

मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई नसुनेको र आजको कार्यसूची हटाएको भन्दै सरकारले संसदलाई अपहेलना गरिरहेको बताए ।उनले भने, ‘समग्र क्रियाकलापमा सरकारले संसदलाई मिनीमाइज गरिरहेको छ । अपहेलना गरिरहेको छ । र सरकारले जनताका प्रतिनिधिहरुको आवाजलाई ठिक तरिकाले सुन्न सकिरहेको छैन् ।

आजको विषयसूचीमा नियमावलीको व्यवस्था अनुसार कार्य व्यवस्था परामर्श समितिको बैठकबाट यही महिनाको १५ गते कार्यतालिका बनायौं । त्यो कार्यतालिका अनुसार आज भ्रष्टाचार निवारण सम्बन्धी विधेयक प्रस्तुत हुने र पारित गर्ने विषयवस्तु थियो । हिजो पनि आजको कार्यसूचीबारे छलफल भएको थियो तर आज सरकारले समय छैन । त्यसकारण कार्यसूची हटाइयो भनेर जानकारी दियो । के सरकारले नियम पालना गर्नु पर्दैन् ।’यस्तै, उनले संसदले सँधै सरकारले जे जे भन्छ त्यही अनुसार गर्ने होकी वा जनताका प्रतिनिधिले बनाएको विषयवस्तु सरकारले पनि पालना गर्नुपर्ने हो भन्दै प्रश्न गरेका हुन् ।