• २०८३ साउन १
  • 2026 July 17, Friday

राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा राष्ट्रपति पौडेल टुँडिखेलमा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ का अवसरमा मूलसमारोह समितिले सैनिक मञ्च टुँडिखेलमा बुधबार आयोजना गरेको विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल सरिक भएका छन् ।सो अवसरमा राष्ट्रपति पौडेलको सम्मानमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो ।

नेपाली सेनाको हेलिकप्टरबाट राष्ट्रिय प्रजातन्त्र दिवस, २०८१ अङ्कित ब्यानर प्रदर्शन गरी पुष्पवृष्टि गरिनुका साथै शान्तिका प्रतीक परेवा उडाइएको थियो । त्यस्तै, नेपाली सेना, नेपाल प्रहरी, नेपाल स्काउट , सशस्त्र प्रहरी बलद्वारा ‘मार्चपास’ र ‘ब्याण्ड’ प्रस्तुत गरिएको थियो । काठमाडौ उपत्यकाका विभिन्न नगरपालिकाले सो अवसरमा बाजागाजासहित विविध सांस्कृतिक झाकी प्रस्तुत गरेका थिए ।

समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, सांसदहरू, संवैधानिक निकायका प्रमुख र पदाधिकारी, नेपाल सरकारका उच्चाधिकारी, कूटनीतिक नियोगका प्रतिनिधि, समाजका विभिन्न क्षेत्रका प्रतिनिधिको सहभागिता रहेको थियो ।