• २०८३ असार १०
  • 2026 June 24, Wednesday

गणेश पराजुलीको प्रश्न:चीनसंग एमओयू भएको रिङरोडको दोस्रो खण्ड ७ बर्षसम्म किन लथालिङ्ग सरकार ?

सम्माननीय सभामुखलाई सम्बोधन गर्दै रास्वपा सांसद गणेश पराजुलीले तीनवटा गम्भीर विषयमा सरकारको ध्यानाकर्षण गराएका छन्। उनले २०१८ मा चाइना सरकारसँग भएको एमओयू अनुरूप रिङरोडको दोस्रो खण्ड निर्माण परियोजना आज ७ वर्षपछि पनि लथालिङ्ग अवस्थामा रहेको कुरा जानकारि गराएका छन् । रिङरोड निर्माणको काम समयमै सम्पन्न नहुँदा बर्खामा हिलो र सुख्खामा धुलोको समस्या र प्रदूषणका कारण जनताको स्वास्थ्यमा प्रतिकूल प्रभाव परेको कुरामा सभामुखको ध्यानाकर्षण गराएका छन्  ।

सांसद पराजुलीले सरकारसँग प्रश्न गरे, “यो पीडा कहिलेसम्म सहन गर्नुपर्ने हो ? रिङरोडको अवस्था यथावत राख्ने काम सरकारको जिम्मेवारी हो?”

उनले आफ्नो निर्वाचन क्षेत्रमा संघीय बजेटको कार्यान्वयनमा भएका अवरोधका बारेमा पनि कुरा गर्दै, सरकारको यो निष्क्रियताले स्थानीय विकासलाई ठूलो क्षति पुर्याएको आरोप लगाएका छन्। “मैले प्रतिनिधित्व गर्ने क्षेत्रका जनताका लागि कुनै संघीय बजेट कार्यान्वयन भएको छैन, के यस्ता नागरिकहरुका लागि मात्रै सरकारको ध्यान जान्छ?” उनले प्रश्न गरे ।

सांसद पराजुलीले अझ थप गर्दै भने, “महानगरपालिकाबाट सञ्चालित १६ वडामा विकास योजनाहरू ठप्प छन्। स्थानिय सरकारको काममा बारम्बार अवरोध सिर्जना गर्दै, सरकारले लामो समयसम्म प्रशासनिक प्रमुख नियुक्ति नगर्नाले आर्थिक नाकाबन्दी जस्तो अवस्था सिर्जना भएको छ।”

यसपछि, उनले सोध्नुभयो, “के संघीय सरकारले यसरी स्थानीय सरकारको कार्य सञ्चालनमा हस्तक्षेप गरेर देशको समग्र विकासमा रुकावट पुर्याउन चाहन्छ?”

सांसद पराजुलीको यस टिप्पणीले स्थानीय प्रशासनको अधिकार र संघीय सरकारले गरेको हस्तक्षेपको विषयमा चर्को बहस सुरु गरेको छ।