• २०८३ असार १५
  • 2026 June 29, Monday

ब्रेनट्युमर पीडित पत्रकार महतलाई आर्थिक सहयोग

काठमाडौ । विगत दुई बर्षदेखि ब्रेनट्युमरबाट पीडित पत्रकार फणिदेव महतलाई चन्द्रपुर हस्पिटल प्रालिले आर्थिक सहयोग गरेको छ ।

पत्रकार महतलाई नगद ५० हजारसहित आजीवन हस्पिटलबाट सेवा निशुल्क प्रदान गर्ने भएको हो। अस्पतालका संचालक डा.सुवास चौधरीले मंगलबार एक कार्यक्रमकावीच नगद राशीको चेक दिएका हुन ।चन्द्रपुर हस्पिटल प्रालिमा कार्यरत कर्मचारी, डाक्टरसहितको टिमले एक दिनको तलव बराबरको सहयोगबाट संकलित रकम दिएका छन ।

संचालक डा.चौधरीले पत्रकार महतको उपचारका लागि आर्थिक सहयोग गरिएको बताए । चन्द्रपुर हस्पिटल प्रालिबाट उपलब्ध हुने सेवा आजीवन निशुल्क प्रदान गर्ने समेत उनले जानकारी दिए ।नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष संजय कुमार कार्कीले पत्रकारिता मार्फत समाजलाई ठूलो योगदान गरेकै परिणाम पत्रकार महतलाई समाजले समेत सम्झेको बताए ।कार्यक्रममा पत्रकार महतले आफुलाई विगतका दिनमा समेत चन्द्रपुर हस्पिटलले गरेको सहयोगको उच्च प्रशंसा गर्दै सहयोगको लागि आभार प्रकट गरेका छन । कार्यक्रममा चन्द्रपुरमा रहेको संचारकर्मी तथा हस्पिटलका संचालक, कर्मचारीहरुको सहभागिता रहेको थियो ।