• २०८३ असार ९
  • 2026 June 23, Tuesday

आइएमई ग्रुपको २ अर्ब लगानीमा नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा, प्रधानमन्त्री ओलीद्वारा उद्घाटन

काठमाडौ। नेपाल — आइएमई ग्रुपको २ अर्ब रुपैयाँ लगानीमा महोत्तरीको गौशाला नगरपालिका-१, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको उद्घाटन गरेका छन् । उद्घाटनपछि प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रक्रिया तथा वातावरण मैत्री क्याल्सियम कार्बोनेट उत्पादनको पनि अवलोकन गरे । २ अर्ब रुपैयाँ लगानी रहेको यस उद्योगले दैनिक ७५ मेट्रिक टन लेखन तथा छपाईका लागि उपयुक्त कागज उत्पादन गर्नेछ। पहिलो चरणमा फोटोकपी पेपर र कापी-किताबमा प्रयोग हुने कागज उत्पादन थालिएको छ। स्वदेशमै कागज उत्पादन सुरु भएपछि जनक शिक्षा सामग्री केन्द्र लगायत शैक्षिक संस्थाले स्वदेशी उत्पादन उपयोग गर्न सक्ने हुँदा यसले आयात प्रतिस्थापनमा महत्वपूर्ण योगदान पुर्‍याउनेछ।

उद्घाटन समारोहमा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल सम्बोधन गर्दै नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजको सफल सञ्चालनले उत्पादनमूलक क्षेत्रमा आइएमई ग्रुपको औपचारिक प्रवेश मात्र नभई, नेपालको औद्योगिक क्षेत्रको नव जागरण भएको पनि बताएका छन् । उनका अनुसार यस उद्योगले प्रत्यक्ष ३०० भन्दा बढी र अप्रत्यक्ष रूपमा हजारौं नागरिकलाई रोजगारी सिर्जना गरेको छ । यसबाट इन्जिनियर, प्राविधिक, कारखाना श्रमिकदेखि आपूर्ति व्यवस्थापक, खुद्रा विक्रेता किसान लगायत लाभान्वित हुनेछन् । उद्योगमा ५० प्रतिशतभन्दा बढी स्थानीय र महिलालाई रोजगारीको अवसर दिइएको छ। अध्यक्ष ढकालले मुलुकको आत्मनिर्भरता, आर्थिक वृद्धि र दीगो औद्योगिक विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताउँदै उत्पादनमूलक उद्योगमा लगानी वृद्धि आवश्यक रहेको पनि उल्लेख गरेका छन् ।

उनले नेपालमा लगानीमैत्री वातावरण निर्माण हुँदै गएको र सरकारले ल्याएका नयाँ नीति तथा कानुनहरू निजी क्षेत्रका लागि सहयोगी रहेको धारणा राख्नुका साथै, मुलुकमा औद्योगिक विकास र पूर्वाधार निर्माणलाई प्राथमिकता दिन सबै क्षेत्र एकसाथ अगाडि बढ्नुपर्ने आवश्यकता रहेको पनि बताएका छन् । नेपाल लामो समयदेखि कागज तथा कागजजन्य उत्पादनका लागि पूर्ण रूपमा आयातमा निर्भर रहँदै आएकोमा अब नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएसँगै यो अवस्था परिवर्तन हुने विश्वास लिइएको छ। अध्यक्ष ढकालका अनुसार, भृकुटी कागज कारखाना बन्द भएपछि नेपालमा औद्योगिक रूपमा कागज उत्पादन रोकिएको थियो।

साना तथा हाते कागज उद्योगहरूले हस्तकला तथा नेपाली कागज उत्पादन गरे पनि औद्योगिक माग पूरा गर्न नसक्ने अवस्थामा रहेका थिए। तर, अब नेपालमै गुणस्तरीय कागज उत्पादन भएसँगै आयात प्रतिस्थापन गर्न सकिनेछ । “राष्ट्रले प्राथमिकता दिएका क्षेत्रहरूमा लगानी गर्ने, बढीभन्दा बढी नागरिकलाई प्रत्यक्ष फाइदा पुग्ने क्षेत्रमा लगानी गर्ने र मुलुकको दीर्घकालीन हितका लागि महत्वपूर्ण उद्योग स्थापना गर्ने लक्ष्य रहेको अध्यक्ष ढकालले बताएका छन् । रेमिटेन्स, बैंक, बिमा, सूचना प्रविधि, जलविद्युत्, पर्यटन पूर्वाधार जस्ता क्षेत्रमा आइएमई ग्रुपको लगानी रहेको बताउँदै, कागज उद्योग स्थापना नेपालको आत्मनिर्भरता र औद्योगिकीकरणको दिशामा उठाइएको महत्वपूर्ण पाइला भएको बताएका छन्। नेपालमा स्वदेशी उत्पादन प्रवर्द्धन गर्दै औद्योगिक विकासमार्फत रोजगारी सिर्जना गर्ने आइएमई ग्रुपको लक्ष्य अनुरूप, नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिजले आर्थिक सुधारमा महत्वपूर्ण योगदान दिने अपेक्षा गरिएको छ।