• २०८३ असार ९
  • 2026 June 23, Tuesday

निजी अस्पताल अनुगमनमा मुख्यमन्त्री सिंह, गरुडाका १० अस्पताल बन्द गर्न निर्देशन

काठमाडौ । मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले गरुडा नगरपालिकामा रहेका १० निजी अस्पताल बन्द गर्न निर्देशन दिएका छन् ।जनस्वास्थ्य नियमावली २०७७ अनुसार मापदण्ड पुरा नगरी सञ्चालनमा रहेका अस्पताललाई मुख्यमन्त्री सिंहले बिहीबार साँझ अनुगमन गरी बन्द गर्न निर्देशन दिएका हुन् ।

गरुडा नगरपालिका वडा नम्बर ४ का अरुण सिटी हस्पिटल प्रालि, अनामिका हस्पिटल प्रालि, नेत्रज्योति आँखा हस्पिटल प्रालि, गौर आँखा अस्पताल, गरुडा अस्पताल प्रालि, रोमा हस्पिटल प्रालि, होप हस्पिटल प्रालि, सनसिटी हस्पिटल प्रालि र सरस्वती हस्पिटल प्रालि तथा गरुडा नगरपालिका वडा नम्बर ५ स्थित आनन्द हस्पिटल प्रालिलाई मुख्यमन्त्री सिंहले बन्द गर्न निर्देशन दिएको प्रदेश स्वास्थ्य तथा जनसँख्या मन्त्रालयको अस्पताल अनुगमन समितिका सदस्य सचिव सन्तोष ठाकुरले बताए ।

उनका अनुसार अस्पताल सेवा सञ्चालन अनुमति वा दर्ता नगरेका, लामो समय देखि नवीकरण नगराएका र कानुनी प्रावधान विपरीत निर्धारित संख्या भन्दा बढी शय्याको अस्पताल सेवा सञ्चालन गरेकालाई बन्द गर्न भनिएको छ ।अनुगमन समितिले बन्द गर्न लिखित पत्र दिँदै मापदण्ड पुरा गरि मात्र सञ्चालन गर्न सुझाव दिएको छ । यस अघि चन्द्रपुर नगरपालिकाका १० वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहले निर्देशन दिइसकेका छन् ।