• २०८३ साउन १
  • 2026 July 17, Friday

विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक : मन्त्री यादव

काठमाडौ । खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताएका छन् ।

सोमबार वीरगञ्ज महानगरपालिकामा समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूका चाहना, आकांक्षा र भावना अनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका हुन् ।उनले भने, ‘विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन् । उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ ।’

कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरूक र परिवर्तनमुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सधैं तयार रहेको मन्त्री यादवले बताए ।

क्याम्पसका जिर्ण रहेका भौतिक संरचनाहरुको पुर्नः निर्माण गरीने भन्दै ठाकुराम क्याम्पसमा बिद्यार्थी सँगसँगै कर्मचारीहरु पनि आफ्नो कामको जिम्मेवारीमा निपूर्ण हुनु पर्नेमा मन्त्री यादवले जोड दिए ।क्याम्पसमा बैज्ञानिक शिक्षा प्रणाली लागु हुनु पर्ने मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिस–राग त्यागेर निर्वाचनमा संलग्न हुन आग्रह गरे ।