• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

अभियन्ता पदम सुन्दासलाई बद्री पहाडी समाजसेवा पुरस्कार

काठमाडौ । मानव अधिकार तथा शान्ति समाजद्वारा स्थापित ‘कर्मयोगी बद्री पहाडी समाजसेवा पुरस्कार‘ २०८१ सामाजिक न्यायका लागि विशिष्ट योगदान हेतु अभियन्ता पदम सुन्दासलाई प्रदान गर्ने निर्णय मानव अधिकार तथा शान्ति समाजले गरेको छ ।

प्रत्येक वर्ष प्रदान गरिने रु. १ लाख १० हजार राशीको यो पुरस्कार सुन्दासलाई प्रदान गर्ने निर्णय शान्ति समाजका सभापति रेनुका पौडेलको सभापतित्वमा सम्पन्न पुरस्कार छनौट समितिले गरेको हो ।२००२ साल असार ३२ गते भोजपुरमा जन्मिएका सामाजिक न्यायका प्रखर अभियन्ता पदम सुन्दासले बहराइनका लागि नेपालको राजदुतका रुपमा २०७४ देखि ७८ सम्म चार वर्ष कार्य गरेका थिए । सिभिल इन्जिनियरिङमा डिप्लोमा गरेका सुन्दासले २०६८ सालमा प्रधानमन्त्री कार्यालय अन्तर्गत राष्ट्रिय स्तरको सल्लाहकार समितिको सदस्य (जातीय भेदभाव तथा छुवाछुत अन्त्य तथा दलित अधिकार प्रवद्र्धन संयन्त्र) को रुपमा समेत भूमिका निर्वाह गरिसकेका छन् ।

सामाजिक न्यायका लागि क्रियाशील एक दर्जन बढी संस्थामा आवद्ध सुन्दासले २०२१ सालमा भोजपुर सिद्धकाली मन्दिर प्रवेश अभियानको नेतृत्व गरेका थिए ।उनले सामाजिक न्यायको खातिर अनसन लगायत विभिन्न संघर्षहरुमा योगदान गर्नुका साथै २०७२ सालमा दलितमैत्री संविधानको लागि तीन महिने शान्तिपूर्ण संयुक्त दलित आन्दोलनमा नागरिक समाजको संयोजकको भूमिका निर्वाह गरेका थिए ।नेपाल सरकार स्थानीय विकास मन्त्रालय, उपेक्षित उत्पीडित तथा दलित वर्ग उत्थान विकास समितिको उपाध्यक्षको रुपमा समेत सेवा गरेका सुन्दास नेपाल दलित साहित्य तथा संस्कृति प्रतिष्ठानको २० वर्ष सम्म अध्यक्ष, नेपाल उत्पीडित दलित जातीय मुक्त समाज, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चाको उपाध्यक्षका रुपमा समेत कार्य गरेका छन् ।

सुन्दास एशिया दलित अधिकार मञ्चको संस्थापक सदस्य समेत छन् । सुन्दासको भोजपुरको चिनारी नामक पुस्तक र चोरिएको रात कथा संग्रह २०२५ सालमा प्रकाशित भएको थियो ।दक्षिण अफ्रिकामा सन् २००१ मा सम्पन्न जातीभेद विरुद्धको तेस्रो विश्व सम्मेलन, स्वीजरल्याण्डमा सन् २००९ मा सम्पन्न डर्बान रिभ्यु कन्फरेन्स लगायत दर्जन बढी अन्तर्राष्ट्रिय सम्मेलनहरुमा सुन्दासको सहभागिता रहेको थियो ।सन् २००८ मा उनले संविधान निर्माण प्रक्रिया अध्ययनका क्रममा भारतको भ्रमण गरेका थिए भने मानव अधिकार र दलित समस्याबारे सन् २०१४ मा न्यु स्कुल अमेरिकामा प्यानलिस्टको रुपमा रहेका थिए ।पदम सुन्दास २०७३ सालमा नेपाल सरकार संस्कृति पर्यटन मन्त्रालयबाट भगत सर्वजित मानव मर्यादा राष्ट्रिय पुरस्कारबाट सम्मानित भइसकेका छन् ।