सुनकोसीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिममा

काठमाडौ। रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुमको बेलघारीमा सुनकोसी नदीले भत्काएको झोलुङ्गे पुल मर्मत नहुँदा स्थानीय जोखिम मोलेर आवतजावत गरिरहेका छन् ।

गत असोज महिनामा आएको बाढीले क्षति पुयाएको राकाथुमलाई सिन्धुलीको बिपी राजमार्गसँग जोड्ने झोलुङ्गे पुल अझै मर्मत हुन सकेको छैन ।सुनकोसी नदीको सो झोलुङ्गे पुलमा गत असोज महिनामा आएको बाढीले क्षति पुयाएको थियो । बाढीले पुलका स्ल्याप बगाएर लगेपछि झोलुङ्गे पुलमा बाँस राखेर अस्थायी रूपमा सञ्चालन गरिएको थियो ।

तत्कालको लागि अस्थायी रूपमा बाँस हालेर पुल सञ्चालनमा ल्याइएको भए पनि अझै मर्मत हुन नसकेको वडाध्यक्ष रामकुमार श्रेष्ठले बताए ।पुलका राखिएका बाँसहरू अहिले एक ठाउँमा जम्मा भएका छन् । पुलको ठाउँ ठाउँमा ठुला ठुला भ्वाङहरु छन् । जसले गर्दा मानिसहरूका गोडा पसेर पुलबाटै झर्ने जोखिम बढेको छ ।स्थानीय गणेशबहादुर श्रेष्ठका अनुसार पुल धराप थापे जस्तो भएको छ ।

सो पुल भएर बेलघारीका २० जना भन्दा बढी विद्यार्थी दैनिक सिन्धुलीको सुनकोसी गाउँपालिका–३ गुठबजारमा रहेको विद्यालयमा पढ्न जाने गर्दछन् । विद्यार्थीहरू दैनिक यही पुलबाट जोखिम मोलेर आवतजावत गर्ने उनले बताए ।विद्यार्थी मात्र होइन स्थानीयको खेत, बजार, स्वास्थ्य संस्था पनि सिन्धुली पट्टी भएकोले दैनिक खेतीको काम, किनमेल तथा औषधी उपचारको लागि पनि यो पुल नतरी हुँदैन । तर पुलको अवस्था भने निक्कै लेखिमपूर्ण छ । ‘दैनिक आउजाउ गर्नुपर्छ, अर्को विकल्प छैन, कति बेला कस्तो दुर्घटना हुने ठेगान छैन’, उनले भने ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१