
काठमाडौ । माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । जनकपुरधामसहित मधेश प्रदेशबाट ८८ हजार ८५८ जना विद्यार्थी सहभागी भएका छन् ।१ हजार २३१ वटा विद्यालयमा अध्ययनरत्त रहेका विद्यार्थीहरुले प्रदेशभर रहेको ३१२ वटा परीक्षा केन्द्रमा परीक्षा दिइरहेको शिक्षा विकास निर्देशनालय, मधेश प्रदेशले जनाएको छ ।यो वर्ष धनुषाबाट सबैभन्दा बढी विद्यार्थी एसईईमा सहभागी भएका छन् ।
धनुषामा १९५ वटा विद्यालयमा अध्ययनरत १३ हजार ६५४ जना विद्यार्थी एसईईमा सहभागी भएको शिक्षा विकास निर्देशनालयका निर्देशक ठूलोबाबु दाहालले जानकारी दिए । त्यस्तै, सप्तरीबाट सबैभन्दा कम १४२ वटा विद्यालयका ८ हजार ७१५ जना विद्यार्थीले सहभागी भएका छन् ।आजदेखि सुरु भएको परीक्षामा ४ हजार ६८० जना सुरक्षाकर्मीलाई खटाइएको छ । यसका साथै परीक्षामा १२ हजार २४२ जना कर्मचारीलाई खटाइएको शिक्षा विकास निर्देशनालयले जनाएको छ ।
निर्देशनालयका अनुसार सिरहामा ४९, धनुषामा ४५, बारामा ४२, रौतहटमा ४०, सर्लाहीमा ३८, सप्तरीमा ३७, महोत्तरीमा ३२ र पर्सामा २९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ ।यो वर्षको एसईईमा मधेस प्रदेशमा ३१२ वटा परीक्षा केन्द्र निर्धारण भएकोमा, ३१२ जना केन्द्राध्यक्ष, ४५९ जना सहायक केन्द्राध्यक्ष, ४ हजार ३७० जना निरीक्षक, ७५५ जना परीक्षा सहायक, १ हजार ६६६ जना कार्यालय सहयोगी खटाइएको निर्देशनालयले जनाएको छ ।यस अघि मधेश प्रदेश सरकारले गोलाप्रथाबाट केन्द्राध्यक्ष छनोट नगरेको भन्दै एसईई परीक्षादेखि प्रदेश सरकारलाई कुनै मतलब नरहेको मुख्यमन्त्री सतीश कुमार सिंहले घोषणा गरेका छन् ।