स्ववियू निर्वाचनमा संगठन पराजित भएपछि नेविसंघ बागलुङका अध्यक्ष पराजुलीले दिए राजीनामा

बागलुङ । धवलागिरी बहुमुखी क्याम्पस बाग्लुङमा चैत ५ गते सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा संगठन पराजित भएपछि नेपाल विद्यार्थी संघ बागलुङका जिल्ला अध्यक्ष विशेष पराजुलीले आफ्नो पदबाट राजीनामा दिएका छन् ।

संघका केन्द्रीय अध्यक्ष दुजाङ शेर्पालाई सम्बोधित राजीनामा पत्रमा उनले संगठनभित्र देखिएको गैर-जिम्मेवार प्रवृत्ति, अनैतिक गतिविधि, र नेतृत्व चयनमा भएको चरम हस्तक्षेपका कारण संगठन पराजित भएको गुनासो गरेका छन् ।

निर्वाचनमा अध्यक्ष पदमा नेविसंघका उम्मेद्वार सृष्टी आचार्यलाई हराउँदै अखिलकी आश्मिन शेखले बाजी मारेपछि जनताको निर्णयलाई स्वीकार गर्दै संगठनको आन्तरिक अवस्थाबाट आफू निराश भएको उल्लेख गरेका छन् । उनले उम्मेदवार चयन प्रक्रियामा अत्यधिक हस्तक्षेपका कारण संगठनले पराजय भोग्नुपरेको आरोप लगाएका छन् ।

उनले संगठनको गौरवशाली इतिहास जोगाउन तथा न्यायसंगत नेतृत्व प्रदान गर्न आफूले निरन्तर प्रयास गरे पनि पछिल्लो राजनीतिक अवस्थाले संघलाई कमजोर बनाएको गुनासो गरेका छन् । यस्ता कारणले नै आफूले पदबाट हट्ने निर्णय लिएको पराजुलीले बताएका छन् ।

पराजुलीले आफ्नो कार्यकालभर सहयोग गर्ने सम्पूर्ण टोलीलाई धन्यवाद दिँदै भविष्यमा पनि लोकतान्त्रिक मूल्य-मान्यता प्रति प्रतिबद्ध रहने बताएका छन् । उनको राजीनामापछि बागलुङको विद्यार्थी राजनीतिमा नयाँ बहस सुरु भएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१