• २०८३ साउन १
  • 2026 July 17, Friday

धनुषाको हंसपुर नगरपालिकामा माओवादीको धर्ना

काठमाडौ । धनुषाको हंसपुर नगरपालिकामा नेकपा माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरुले नगरपालिकाको कार्यालयमा तीन दिनदेखि तालाबन्दी गर्दै धर्ना जारी राखेका छन् ।
उनीहरुले वडा नम्बर–६ सोनिगामास्थित सामुदायिक विद्यालय परिसरमा घर निर्माण गरी कब्जा गरिएको भन्दै उक्त संरचना हटाउन माग गरेका छन् ।

माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने विषयमा कार्यपालिकाले गरेको निर्णय तत्काल लागू गर्नुपर्ने अडान राख्दै मेयर प्रदिप यादवलाई ज्ञापनपत्र बुझाएका छन् । तर, मेयर यादवले निर्णय तत्काल लागू गर्न अस्वीकार गरेपछि उनीहरुले अनिश्चितकालीन धर्ना सुरु गरेका हुन् ।धर्नामा बसेका माओवादी कार्यकर्ताहरुले विद्यालय परिसर खाली गराउने सम्झौता भए तालाबन्दी खोल्ने बताएका छन्।

तर, सहमति नजुट्दा नगरपालिकाको प्रशासनिक कार्य प्रभावित भएको छ। नगरपालिकाका कार्यपालिका सदस्य तथा स्थानीय नेता राजेश सक्सेनाले मेयरले कार्यपालिकाको निर्णय कार्यान्वयन नगरेका कारण बाध्य भएर धर्ना दिनु परेको बताएका छन् ।यसैबीच, मेयर यादव र माओवादी कार्यकर्ताबीच केही चरणको वार्ता भए पनि सहमति जुट्न सकेको छैन । माओवादी नगर कमिटीले ३० बुँदे माग राख्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । यदि विद्यालय परिसर खाली गराउने निर्णय कार्यान्वयन नभए, आन्दोलन अझ सशक्त बनाउने चेतावनी उनीहरुले दिएका छन् ।