राष्ट्रिय प्रतिभा पुरस्कार : पाँच वर्षको पुरस्कार एकैपटक प्रदान

काठमाडौँ । प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कारबाट आज विभिन्न क्षेत्रका व्यक्तित्वहरु पुरस्कृत भएका छन् ।नेपाल सरकारले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकासको क्षेत्रमा उल्लेखनीय योगदान पुयाउने प्रतिभाशाली व्यक्तिलाई पुरस्कार दिने घोषणा राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा गरेको थियो । प्रधानमन्त्री ओलीसँगै प्रथम महिला राधिका शाक्य, उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्मान गरे ।

पुरस्कृत हुनेमा टेलिमेडिसिनतर्फ डा.छिरिङ लामा (सिन्धुपाल्चोक), विज्ञान प्रविधि नवप्रवर्तनतर्फ डा विराजसिंह थापा (मोरङ), कीर्तिमानी पर्वतारोही पूर्णिमा श्रेष्ठ (गोरखा), विज्ञान प्रविधितर्फ डा.आभास मास्के (काठमाडौँ) र हरिराम श्रेष्ठ (गोरखा) छन् ।यस्तै चिकित्सा क्षेत्रतर्फ डा.ओममूर्ति अनिल (महोत्तरी), खेलकुदतर्फ सावित्रा भण्डारी साम्बा (लमजुङ), सम्पदा संरक्षणतर्फ रवीन्द्र पुरी (भक्तपुर), समाजसेवातर्फ दिलशोभा श्रेष्ठ (काठमाडौँ) र रामजी अधिकारी (गोरखा) पुरस्कृत भएका छन् ।

प्रधानमन्त्री ओलीले कोरिया सरकारबाट प्राप्त एक लाख अमेरिकी डलरमा नेपाल सरकारबाट सोही बराबरको रकम थप गरी पुरस्कार कोष स्थापना गरिएको पनि जानकारी दिए । प्रधानमन्त्री ओलीले समाजमा सकारात्मक काम गर्नेलाई राज्य र समाजले सम्मान गर्नुपर्नेमा जोड दिए ।उक्त कोषबाट प्रत्येक वर्ष दुई जना प्रतिभालाई जनही पाँच लाख राशिको पुरस्कार प्रदान गर्ने निर्णय भएको थियो । २०७६ सालमा पहिलो पटक दुई विधाका तीन प्रतिभालाई पुरस्कार प्रदान गरिएकामा त्यसपश्चात् कोरोना महामारीका कारण पुरस्कार वितरण हुन सकेको थिएन । अहिले पाँच वर्षको पुरस्कार एकैपटक प्रदान गरिएको हो ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१