
काठमाडौ । चुरे तथा वनजंगल संरक्षण अभियानले चुरे बचाउन पुनः आन्दोलनको घोषणा गरेको छ । अभियानले राष्ट्रिय सम्मेलनबाट पारित निर्णयहरू सार्वजनिक गर्न आइतबार जनकपुरधाममा आयोजना गरेको पत्रकार सम्मेलनमा विभिन्न चरणबद्ध आन्दोलनका कार्यक्रमहरू घोषणा गरेको हो ।
अभियानका केन्द्रीय अध्यक्ष सुनिल कुमार यादवका अनुसार चैत १५ देखि २० गतेसम्म चुरे वनजंगल विनाशबाट प्रभावित क्षेत्रहरूमा जनजागरण यात्रा सञ्चालन गरिनेछ । सो क्रममा बर्दिबास, सिन्धुली, निजगढ, लालबन्दी, बागमती, चितवन, इटहरी लगायतका स्थानहरूमा सचेतनामूलक कार्यक्रम गरिनेछ ।त्यसपछि चैत २४ गतेदेखि माइतीघर मण्डलामा धर्ना तथा संसद भवनअगाडि अनिश्चितकालीन विरोध कार्यक्रम आयोजना गरिने उनले जानकारी दिए ।
यता राष्ट्रिय सम्मेलनबाट अभियानको केन्द्रीय अध्यक्षमा पुनः सुनिल कुमार यादवलाई सर्वसम्मत चयन गरिएको छ ।उपाध्यक्षमा सुक्रिती आचार्य र राजेश भण्डारी चयन भएका छन् । त्यस्तै महासचिवमा बासुदेव डल्लाकोटी चयन भएका छन् ।सचिव पछि चयन गरिने जनाइएको छ । कोषाध्यक्षमा नन्दकिशोर रामसहित २१ सदस्यीय कार्यसमिति गठन गरिएको छ ।