
काठमाडौ । नेकपा एमालेका केन्द्रीय महासचिव शंकर पोखरेलले वर्तमान सरकार सरकार चलाउनको लागि मात्र नबनेको बताएका छन् ।आइतबार प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको विराटनगरमा उद्घाटन गर्दै महासचिव पोखरेलले लोकतान्त्रिक प्रणालीमाथि नै चुनौति उत्पन्न भएको कारण देशका दुई प्रमुख राजनीतिक दल मिलेर सरकार बनाएको बताए ।
‘कांग्रेस र एमाले पहिलो पटक मिलेका होइनन्, जतिबेलासम्म यी दुई पार्टी मिलेनन् तबसम्म देशमा तानाशाही व्यवस्था रहिरह्यो, जब देशलाई संकट पर्छ, तब कांग्रेस र एमाले मिल्ने गर्दछन्’, पोखरेलले भने ।पोखरेलले माओवादीको सशस्त्र द्वन्द्वको निशान राजा नभएर कांग्रेस र एमाले भएका पोखरेलले बताए । माओवादीलाई सशस्त्र द्वन्द्वको बेला कसले पालन पोषण गरेका थिए भन्ने कुरा प्रमाणित हुँदै गएको उनको भनाइ छ ।
नेपालको राजनीतिमा नेपाली कांग्रेसले जतिबेला संसद् विगठन गर्छ, त्यतिवेला सदर हुने तर एमालेले विगठन गर्दा अमान्य हुने गरेको पोखरेलले बताए । नेपालको न्याय निरूपणको प्रक्रियामा अदालतको समेत दोहोरा चरित्र देखिएको पोखरेलको गुनासो छ ।आज राजावादीहरुले लोकतन्त्रमा देश विकासको कुनै काम हुन सकेन भनेर भ्रम फिँजाइरहेका बताउँदै पोखरेलले राजाको पालामा भएको विकास र लोकतन्त्रमा राजनीतिक दलले शासन गर्दा भएका विकास तुलना गरेर हेर्न आग्रह गरे । पोखरेलले कू–तर्क गरेर जनतालाई भ्रम फिँजाउने कुचेष्टा नगर्न राजावादीहरूलाई चेतावनी दिए । मंगलबारसम्म चल्ने महाधिवेशनले नयाँ नेतृत्व चयन गर्ने छ ।