
काठमाडौ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले मुलुकको लोकतान्त्रिक गणतन्त्रलाई सफल बनाउनुपर्ने बताएका छन् ।आइतबार विराटनगरमा प्रेस चौतारी नेपालको १० औँ केन्द्रीय महाधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमाले स्थायी कमिटी सदस्य समेत रहेका कार्कीले अहिले सामाजिक सञ्जालमार्फत समाजमा अफवाह फैलाउने काम भएको बताए ।
‘लोकतान्त्रिक शासन प्रणालीलाई पनि चुनौती दिने खालका अभिव्यक्तहरू आउने गरेका छन्’, उनले भने ।यसका विरुद्ध नेपालका सञ्चार माध्यले एक ठाउँमा उभिएर प्रतिवाद गर्नुपर्ने कार्कीको धारणा छ । अहिले अभियन्ता बनेकाहरूको विगत र उनीहरू अहिले कसरी आएका छन् भन्ने कुरा सञ्चारमाध्यमले राखिदिए नागरिकहरू छर्लङ्ग हुने उनले बताए ।अरूको गलत ढङ्गले प्रचार गर्न आवश्यक नरहेको बताउँदै कार्कीले जे हो त्यही सत्य सार्वजनिक गरिदिने हो भने लोकतन्त्रको रक्षाका लागि ठुलो योगदान पुग्ने कार्कीले बताए । यो काम प्रेस चौतारी आबद्ध पत्रकारहरूले प्राथमिकताका साथ गर्नुपर्नेमा उनको जोड छ ।
शेरबहादुर देउवा र केपी ओलीको बिचमा मुलुकको ध्वस्त भएको अर्थतन्त्रलाई सही बाटोमा ल्याउने, संविधान संशोधनका लागि काम गर्ने सहमति भएको बताउँदै कार्कीले पहिलो बुँदामा राम्रो प्रगति हुँदै गएको बताए ।‘अहिलेको सरकारले उल्लेख्य राजश्व सङ्कलन गरेको उनको धारणा छ । मुलुकको अर्थतन्त्रलाई ठिक बाटोमा ल्याउन अहिलेको सरकार सफल भएको छ’, उनले भने ।प्रजातन्त्र भनेको छाड हिँड्ने कुरा नभएको बताउँदै कार्कीले सामाजिक सञ्जाललाई नियमन गर्नै पर्ने बताए । कुनै पनि व्यक्तिलाई छाडा बन्नबाट रोक्न सामाजिक सञ्जाल नियमन सम्बन्धी कानुन आवश्यक रहेको उनको भनाइ छ ।सरकारले अध्यादेश ल्याउने कुरा पनि संविधानसम्मत कुरा भएको बताउँदै कार्कीले त्यसको आलोचना गर्नुको कुनै अर्थ नभएको बताए । सरकार पूर्ण रूपमा लोकतान्त्रिक बाटोबाट सही दिशामा अघि बढेको उनले प्रष्ट पारे ।