काठमाडौ । कृषि मिटर हटाएर उद्योग मिटर लागू गरेपछि रौतहटका मत्स्य यवसायीहरु आन्दोलित भएका छन् ।नेपाल सरकारले हालै माछा पालनसम्बन्धी कृषि मिटर हटाएर उद्योग मिटर लागू गरेपछि त्यसको विरोध गर्दै मत्स्य व्यवसायीहरुले नेपाल विद्युत् प्राधिकरण चन्द्रपुरमा धर्ना दिएका छन् ।
नेपाल मत्स्य व्यवसायी संघ रौतहटको अगुवाइमा विभिन्न मागहरू राख्दै दबाबमुलक धर्ना दिएका हुन ।पोखरीका माछा पालनलाई पुनः कृषि अन्तर्गत राखी कृषि मिटरको सुविधा उपलब्ध गराउनु पर्ने, विद्युत् महसुलमा कुनै पनि प्रकारको अन्यायपूर्ण वृद्धि फिर्ता लिनुपर्ने र मत्स्य कृषकहरूका लागि विशेष राहत कार्यक्रम ल्याउनु माग राखि धर्नामा बसेको नेपाल मत्स्य व्यवसायी संघका अध्यक्ष दिलीप सहनी बताए ।
उनका अनुसार कृषि मिटर हटाएर उद्योग मिटर लागू गरिएपछि माछा पालन गर्ने किसानहरू ठूलो आर्थिक भारमा परेका छन् ।विद्युत् प्राधिकरण तथा सरकारलाई तत्काल निर्णय पुनर्विचार गर्न आग्रह गर्दै उनले माग पूरा नभए नेपालभरका मत्स्य व्यवसायीहरू सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।सरकारको यस निर्णयले यहाँका माछा पालन गर्ने किसानहरू मर्कामा परेका छन ।मत्स्य व्यवसायीहरूले विद्युत् प्राधिकरणलाई कृषि मिटर पुनः लागू गर्न आग्रह समेत गरेका छन् ।