• २०८३ असार ९
  • 2026 June 23, Tuesday

सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन् : ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पुयाउने कामहरु भइरहेको बताएका छन् ।

मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए ।उनले भने, ‘डिजिटल नेपाल कसरी प्रभावकारी तरिकाले बनाउन सकिन्छ । नेपाललाई प्राविधिक रुपमा विकास गरेर, सेवाहरुमा पनि प्रविधिको विकास गरेर कसरी धेरै भन्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने विषयमा पनि सुझाव दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु ।

हामीले समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्ने संकल्प बोकेका छौ । केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागेका छन् त्यो स्वभाविक पनि हो ।विरोधीहरु लाग्छन् ।’यसका साथै, उनले पछिल्लो समय सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउने कुराहरु बढ्दै गएको भन्दै सरकार यस्ता विषयहरुमा अल्झिएर नबस्ने बताए ।उनले भने, ‘सरकार र आफू बाहेक अरुलाई कसरी बद्नाम गर्न सकिन्छ । कसरी सत्यलाई ढाक्न सकिन्छ, झुटलाई फैलाउन सकिन्छ भनेर यस्तो कुराहरुमा उहाँहरु धेरै नै सक्रिय देखिनु हुन्छ ।

म यस्ता कुराहरुमा धेरै अलमल गर्न चाहान्न । हामीले देशको विकास गर्नु छ । अनावश्यक कुराहरुमा हामीलाई तान्न खोज्छन्, अलमलाउन खोज्छन्, हाम्रो ध्यान भड्काउन खोज्छन् । त्यो हुन हामी तयार छैनौ । हामी आफ्ना विषयमा केन्द्रीत हुन्छौ आफ्ना काममा केन्द्रीत हुन्छौ र आफ्नो देश विकासको लागि तय गरिएका नीतिहरु कसरी प्रभावकारी तरिकाले कार्यान्वयन गर्ने यस कुरामा हाम्रो ध्यान रहेको छ ।’पूर्वाधारबिना विकास सम्भव नभएको भन्दै पछिल्लो समय प्रधानमन्त्री हुँदा पूर्वाधारलाई प्राथमिकतामा राखेर अगाडि बढेको पनि उनको भनाइ छ ।