• २०८३ साउन १
  • 2026 July 17, Friday

कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई यो सरकारले अपमान गर्नु खेदजनक : देवेन्द्र पौडेल

काठमाडौं । माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले कुलमान घिसिङ जस्तो योग्य कर्मचारीलाई अपमान गर्ने जुन काम भयो त्यो खेदजनक रहेको बताएका छन् ।

बुधबार प्रतिनिधि सभा बाहिर बोल्दै उनले लोडसेडिङ मुक्त राष्ट्र बनाउन मूल नेतृत्व गरेको घिसिङलाई सम्मान गर्नु सट्टा सरकारले अपमान गरेको भन्दै यो खेदजनक भएको बताएका हुन् ।उनले भने, ‘काम गर्ने एकजना मजदुर, नागरिक सबैलाई हेर्नुपर्छ नि । नेपाल पहिला धेरै अन्धकारमा रहेको थियो । ९ देखि १८ घण्टासम्म लोडसेडिङ हामीले भोग्नु परेको थियो । त्यो लोडसेडिङ घट्दै गएर करिब करिब लोडसेडिङ मुक्त राष्ट्रको रुपमा हामी अगाडि बढेकाछौँ ।

त्यसको मूल नेतृत्व कुलमान घिसिङले गरेको कुरा सबैलाई थाहा छ । कुलमान घिसिङ एकजना कर्मचारी हो तर योग्य कर्मचारीलाई सम्मान गर्न त जान्नुपर्छ नि ,सरकारले सम्मान गर्नुको सट्टा सरकारले अपमान गरेर जसको समय पनि सकिने बेलामा अपमान गर्ने जुन काम भयो त्यो खेद जनक छ ।’यसको साथै, कुलमान घिसिङलाई हटाउनु र मन्त्रीज्यूले लोडसेडिङ भारतले अन्त्य गरेको हो कुलमानले होईन भन्नु निकै खेदजनक र दुखद कुरा भएको पनि उनको भनाई छ ।