नेपाली सेनाको स्वास्थ्य शिविरमा साढे चार सयको परीक्षण

काठमाडौ । सुर्खेत बराहतालमा सेनाको स्वास्थ्य शिविरमा चार सय ५१ जनाको स्वास्थ्य परीक्षण गरिएको छ ।सुर्खेतको पश्चिम रानीघाटमा नेपाली सेनाको कालीबहादुर गणले आयोजना गरेको एकदिने स्वास्थ्य शिविरबाट बराहताल गाउँपालिका वडा नं. १ र २ का नागरिकहरुले सेवा लिएका हुन् ।

शिविरमै ७२ जनाको भिडियो एक्स–रे समेत गरिएको छ । गुणस्तरीय स्वास्थ्य सेवाको पहुँचभन्दा बाहिर रहेका दुर्गम गाउँमा पुगेर सेनाले स्वास्थ्य शिविर सञ्चालन गरेको गणपति प्रमुख सेनानी शैलेन्द्र सिलवालले बताए ।शिविरमा कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाही, बालरोग विशेषज्ञ डा. त्रिभुवन भट्टराई, सेनाका सहसेनानी डा.सचित थापा र अभिनाष बस्नेतले सेवा दिएका थिए ।

यस्तै शिविरमा सुर्खेत आँखा अस्पतालका निर्देशक डा.मन्जु पन्त र नेत्र सहायक बविता पुनले आँखासम्बन्धी उपचार सेवा दिएका थिए ।शिविरमा प्रसूति तथा स्त्री रोग, आँखासम्बन्धी समस्या, बालरोगसम्बन्धी समस्या, जनरल सर्जरी, अन्य साधारण रोगको जाँच, उपचार तथा औषधि उपचार गरिएको छ ।कर्णाली प्रदेश अस्पतालमा कार्यरत प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. ललितजंग शाहीले शिविरमा पुगेका अधिकांश महिलाहरुको पाठेघरमा मुखको संक्रमण बढी देखिएको बताए । महिनावारीमा अत्याधिक रगत बग्ने र पाठेघर खसेका महिलाहरुले सेवा लिएको उनको भनाइ छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१