काठमाडौं । वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक कमल कोइराला आफू कम्युनिष्ट विचारधाराको व्यक्ति भएपनि प्रजातान्त्रिक आन्दोलनका प्रणेता बीपी कोइरालाप्रति सँधै नतमस्तक भएको एक कार्यक्रममा स्मरण गरेका छन् ।नेपाल प्रेस युनियनले मिति २०८१ भदौ २३ गते प्रथम जननिर्वाचित प्रधानमन्त्री बिपीको एक सय ११औँ जन्मजयन्तीका अवसरमा आयोजना गरिएको ‘पत्रकारिताका सन्दर्भमा बिपी’ विषयक कार्यक्रम वीपीप्रति सदभाव ब्यक्त गरेका हुन् ।
विसं २०१५को निर्वाचनपछि प्रतिपक्षी दल कमजोर भएका बेला दुई तिहाइ मत ल्याएर प्रधानमन्त्री बनेका बीपीले व्यक्त गरेका विचारले पत्रकारितामा उच्च सम्मान रहेको औंल्याएका हुन् ।सरकारका गलत कामको आलोचना गरेवापत् राज्यबाट पत्रपत्रिकालाई विज्ञापन दिने व्यवस्था बीपीकै नेतृत्वको सरकारले गरेको बताए । सोही व्यवस्थालाई हाल लोक कल्याणकारी विज्ञापन भन्ने गरिएको उल्लेख गरे ।‘पिताजी कृष्णप्रसाद कोइरालादेखि नै हाम्रो परिवारको पत्रकारितामा योगदान छ, कृष्णप्रसादले सूर्यविक्रम ज्ञवाली सम्पादक रहनुभएको जन्मभूमि पत्रिकामा लेख्ने गर्नुहुन्थ्यो । बीपी पनि प्रत्यक्ष अप्रत्यक्ष रूपमा पत्रकारितामा सङ्लग्न हुनुहुन्थ्यो, साहित्यिक पत्रिका शारदामा पनि उहाँको योगदान छ’ बीपीका दाजु मातृकाप्रसाद कोइरालाका पुत्रसमेत रहेका कोइरालाले भनेका छन् ।
गलत काम औँल्याइदिने प्रेसको सहयोगमा आफ्नो कमजोरी थाहा पाएर सच्चिने अवसर मिल्छ भन्ने बीपीको विचार रहेको उनले जानकारी गराए ।पहिलो जननिर्वाचित प्रधानमन्त्री भएका बेला कम्युनिष्ट पार्टी निकट रहेका मदनमणि दीक्षितलाई सरकारका गलत कामको आलोचना गरेर लेख्नु भनेको कुरा पनि उनले स्मरण गरे । पूर्वराजदूत समेत भइसकेका कोइरालाको ८७ वर्षको उमेरमा आइतबार निधन भएको छ । सिनामंगलस्थित केएमसी अस्पतालमा भर्नामा उपचारका क्रममा आइतबार साँझ मृत्यु भएको हो ।केही दिनअघि घरमै लडेका कोइरालालाई उपचारका लागि केएमसी भर्ना गरिएको थियो ।
पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमलले दक्षिण कोरियाका लागि नेपाली राजदूत भएर काम गरेका थिए । कोइराला परिवारका एक मात्र कम्युनिस्ट र वामपन्थी विचारधारामा विश्वास राख्ने उनले विभिन्न पत्रपत्रिकामा स्तम्भकारका रुपमा काम गरेका थिए ।(बीपीबारे कमल कोइरालाको भिडियो मन्तब्य नेपाल न्यूज बैंकको अर्काइभबाट ल्याइएको हो)